कैलाली। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी एयरपोर्टलाई दिल्लीको एयरपोर्ट भन्दा पनि राम्रो बनाउनुपर्ने बताएका छन् । धनगढीमा आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर द्रुत मार्गले निम्त्याउने बारे अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘हामीले धनगढी विमानस्थललाई स्तरोन्नति गर्न धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरेर क्यानबाट पास गरेर मन्त्री परिषदमा लग्यौँ, त्यहाँबाट पनि पास भएर एक अर्ब बजेट विनियोजन गरिसकेका छौँ । अब जग्गा अधिकरणको लागि १० देखि १२ अर्बसम्म लाग्छ ।
तर क्यानले स्टीमेट गरेका अनुसार १० अरब लाग्छ भनेको छ । तर १० अरबले त पुग्दैन यो एयरपोर्ट दिल्लीको भन्दा राम्रो बन्नु पर्यो । एयरपोर्ट सधैँ त बन्दैन भनेर मैले पहल गरिरहेको छु,’ उनले भने । यस्तै उनले धनगढी एयरपोर्टका प्रमुखलाई एयरपोर्ट आफू पर्यटन मन्त्री भइसकेपछि धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनकालागि लागिपरेको बताए । यस्तै मन्त्री आलेले आफ्नै पहलमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक पर्यटन वोर्डको स्थापना गरेको समेत बताए ।