कञ्चनपुर। निर्वाचन आयोगले यसपटक मतदाता शिक्षाको कार्यक्रम नै नल्याउँदा बदर मत अझै बढ्न सक्ने अनुमान गरिएको छ । हरेक निर्वाचनमा मतदाता शिक्षा अनिवार्य भएपनी निर्वाचन आयोगले पनि विगतका निर्वाचनलाई यसलाई निकै महत्त्व दिएको दिएको थियो।
तर यस पटक मतदाता शिक्षाको कार्यक्रम नहुँदा बदर मत अझै बढन सक्ने अनुमान गरिएको हो। सुदुरपश्चिम प्रदेशका जिल्लामा मतदाता शिक्षाको कार्यक्रम नहुँदा मत बदर हुने सम्भावना बढेको हो विगतका निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षालाई निकै महत्व दिए पनि बदर मत घटाउन सकिएको थिएन ।यस्तै ०७४ को स्थानीय तह निर्वाचनमा कञ्चनपुरका ९ वटै पालिकामा ५ हजार ५९ बदर मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जुन कुल खसेको मतको ३ दशमलव ६५ प्रतिशत हो । त्यतिबेला जिल्लामा २ लाख ३५ हजारमध्ये ७२ दशमलव ९० प्रतिशत मत मात्रै खसेको थियो ।
यसपटक मतदाता संख्या बढेको छ । सबै पालिकामा मतदाता संख्या २ लाख ९५ हजार ३५४ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा पुरुष १ लाख ५२ हजार ११२ र महिला १ लाख ४३ हजार २४१ तथा तेस्रो लिंगी १ जना छन् । विगतमा निर्वाचनमा स्वास्थ्य स्वयम्सेविका र वालविकासका सहजकर्ताहरूलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरू नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउथे । तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन । ‘यसपाली एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, वजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले भने, ‘केन्द्रको स्वयम्सेविकाले पनि मतदाता शिक्षा दिने भन्ने छ ।’ उनका अनुसार कार्यक्रम र वजेट नआएका कारण विगतजस्तो मतदाता शिक्षा दिन नसकिएको हो । विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरूमा बढी मत बदर भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार लालझाडी र दोधारा चाँदनी नगरपालिकामा ४र४ प्रतिशत भन्दा बढी मत बदर भएका छन् । लालझाडीमा ८ हजार ९५६ मत खसेकोमा जसमा ४२४ मत बदर भएको थियो । यसैगरि दोधारा चाँदनीमा पनि खसेको १३ हजार ८८३ मत मध्ये ५६९ मत बदर भएको थियो । स्थानीय तहको निर्वाचनमा मात्रै होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा बदर मतको प्रतिशत अझ बढी छ । यस पटक मतदाता शिक्षाको अभावसंगै राजनीतिक दलहरूबीचको गठबन्धनले समेत बदर मत बढन सक्ने स्थानीय बताउछन् । एकातर्फ गठबन्धनका कारण मतदाताहरू अलमलमा पर्न सक्ने र अर्कोतर्फ मतदाता शिक्षा नहुॅदा समस्या हुने सक्ने विभिन्न दलका कार्यकर्ताहरू बताउछन् । ‘बदर मत घटाउन हामीले सक्दो प्रयास गर्नेछौं, तर यस पटक मतदाता शिक्षाको अभावको कारण बढन सक्छ,’ जिल्ला निर्वाचन अधिकारी जोशीले भने, ‘स्रोत साधनको अभावमा कम खर्चमा बदर मत घटाउन हाम्रो प्रयास रहनेछ ।’