कैलाली। प्रमुख सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सात वटै प्रदेशमा आमसभा गर्ने भएको छ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि सात वटै प्रदेशमा आमसभा गर्ने निर्णय गरेको हो।केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार स्थानीय चुनाव केन्द्रित सभाहरू वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सकिनेछ।
सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा गरिनेछ।यस्तै प्रदेश १ को मोरङमा वैशाख २१ गते, मधेश प्रदेशको धनुषा वैशाख २२ गते र बागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते आमसभा हुनेछ । गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते आमसभा गरिने पौडेलले बताए। उनले आमसभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने पनि जानकारी दिए।
आमसभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन तथा परिचालन ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गर्ने बताइएको छ।प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले शनिबारमात्रै उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन्।उपसमितिमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार र केन्द्रीय सदस्य नानु बास्तोला सदस्य रहेका छन्।उपसमितिको सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई राखिएको छ।आमसभा हुने स्थान र मिति:
मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते