धनगढी। निर्वाचन आयोगले धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई चुनाव चिह्न आँप प्रदान गरेको छ । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले उनलाई ‘आँप’ चुनाव चिन्ह वितरण गरेको बताएका हुन्।
स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए । यस्तै आज आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।