काठमाडौँ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।निर्वाचन आयोगले ७ सय ५३ स्थानीय तहमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन ।
आयोगका अनुसार शुक्रबार साँझसम्म १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् ।‘यसमा अझै केही संख्या थपिन सक्छ,’निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने,‘हुम्लाको एक पालिकामा इन्टरनेटको समस्या भएकोले तथ्यांक अपडेट हुन बाँकी छ । अन्य पालिकामा पनि सच्याउँदा थपघट भइरहेको छ ।’