काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै कांग्रेसले निर्देशन नमान्ने उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने चेतावनी दिएको छ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन मिल्ने समय निर्धारण गरेको छ। उक्त समयभित्र उम्मेदवारी फिर्ता लिन कांग्रेसले निर्देशन दिएको छ। आज कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ।