कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा नगरप्रमुखकालागि नेपाली काँग्रेसबाट २ जनाको उम्मेदवारी दर्ता भएको छ। नगरप्रमुखकालागि नेपाली काँग्रेसबाट नै दुई जनाले मनोनयन दर्ता गरेका छन्।
लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले नेपाली काँग्रेसबाट भक्तबहादुर थापा र शुशीला शाहीले नगरप्रमुखकालागि उम्मेदवारी दर्ता गरेको जानकारी दिए। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने बताए। दुवैले पार्टीबाट प्राप्त टिकट सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेस लम्कीभित्र तरङ्ग पैदा भएको छ।
अहिले आधिकारिक को भन्ने प्रश्न उब्जिएको छ। पार्टीले आधिकारिक मानेको व्यक्ति रुख चुनाव चिन्हबाट चुनाव लडछन्,‘अर्को उम्मेदबार स्वतः स्वतन्त्र हुन्छ उनले भने। शुशीला शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको थियो। यता कैलाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले भने शुशीला शाही नै आधिकारिक उम्मेदवार भएको बताएका छन्। यस्तै जिल्ला सचिव नृप सुनारले भने भक्तबहादुर थापा मेयरको आधिकारिक उम्मेदवार भएको बताइरहेका छन्।



