कैलाली। कैलालीमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडमा सहमति भएको छ। आइतबार कैलालीमा सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा सहमति भएको हो।
सहमतिअनुसार राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत प्रतिस्पर्धा हुने जनाइएको छ। आइतबार मध्यराति भएको सहमतिअनुसार जिल्लामा टुंगो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ। यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको जनाइएको छ।
गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसले उम्मेदवार पाएको छ। काँग्रेसले पाएका गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ। यस्तै गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएको छ भने चुरे र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले पाएको छ। यी सबै पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ। यसअघि नै धनगढी उपमहानगरपालिकाको भागबन्डा भने केन्द्रीय गठबन्धनले टुंगो लगाइसकेको थियो। धनगढीमा मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको जनाइएको छ।सुची हेर्नुहोस



