दार्चुला। दार्चुला तिंकर सडक निर्माणकालागि सेनाको हेलीकप्टरमार्फत मेसिन ओसारी रहेको छ। नेपाली सेनाले जिम्मा पाएको दार्चुला–तिंकर सडक निर्माणमा प्रयोग गरिने ठूलठूला मेसिन (हेभी इक्वभमेन्ट) हेलिकप्टरले ओसारी रहेको हो।
बुधबार दार्चुला आएको नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले ब्याँस गाउँपालिकाको सुन्सेराबाट गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा मेसिनहरु सारी रहेको कोठेधार तिंकर सडक योजनाले जनाएको छ।मेसिनहरु लैजान सडक नभएपछि हेलिकप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिनहरु स्काई भेटर, ब्याकोलोडर, कम्प्रेसरका पार्टहरु ओसारी रहेको छ।
मेसिनका स–साना पार्टहरु भित्र राखेर ओसारी रहेको छ, भने ठुला पार्टहरु झुण्ड्याएर सार्ने जनाइएको छ। यसैबीच नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ्ग, विकास निर्माण कार्यदल २ गण दार्चुलाका गणपति रमेश गुरुङ्ग, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेश प्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धुव्र विष्ट लगायतको टोलीले स्थलगत अनुगमन निरिक्षण गरेको छ।
सेनाले जिम्मा पाएको सडक निर्माणको काम अहिले दार्चुला तिंकर सडक योजनाले गरिरहेको छ। नेपाल सरकारले दार्चुला–तिंकर सडक अन्तरगत ब्याँस गाउँपालिकाको कोठेधारदेखि तिंकरसम्मको ७३ दशमलव २ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। नेपाली सेनाले अहिले ५ ठाउँबाट सडक निर्माणको काम गरिरहेको कोठेधार तिंकर सडक योजनाले जनाएको छ। नेपाली सेनाले ब्याँस गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको छ। चालु आर्थिक वर्ष २०७८/०७९ मा ७ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिले ३ किलोमिटर सडक निर्माण गरेको जनाइएको छ। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपैयाँ प्राप्त भएको बताइएको छ।