कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले पदभार ग्रहण गरेका छन्।
कैलाली पुगेर सोमबार आजदेखि कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) राठौरले सम्हालेका हुन्। कार्यालयमा प्रहरी उपरीक्षक राठौरलाई स्वागत गरिएको छ। एसपी राठौरलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी वेदप्रकाश जोशी लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका छन्। राठौरले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन्।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत चैत्र २९ गतेको पत्रादेशले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी पाएका राठौरले सोमबार पदभार ग्रहण गरे सँगै जिल्लाको कमाण्ड सम्हालेका हुन्। कैलालीका एसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय काठमाडौँले अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौँमा काज सरुवा गरेपछि कैलालीमा प्रहरी प्रधान कार्यालय काठमाडौँ नक्सालबाट राठौरलाई पठाइएको हो ।




