कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कानून अध्ययन गरिहेका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । आइतबार कानून संकाय अन्तरगत बिएएलएलबीका विद्यार्थीले परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली–अङ्ग्रेजी दुवै हुनुपर्ने माग सहित प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालबन्दी गरेका छन् ।
विश्वविद्यालयले मनपरी रुपमा अंग्रजी माध्यम मात्रै लागू गरेको उनीहरुको आरोप छ । यस विषयमा विगतदेखि नै आफूहरु आन्दोलनरत रहेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले यसअघि क्याम्पस प्रशासन र डिन कार्यलयसंग समेत छलफल गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आइरहेको उनीहरुको भनाइ छ । उनिहरुले भाषा सम्बन्धिको विषय पढाई हुने माध्यम जुनसुकै भएपनि परिक्षामा लेखिने भाषाको माध्यम नेपाली र अंग्रेजी दुवै हुनुपर्ने माग राखेका छन् ।
यस्तै उनीहरुले वैशाख ५ गतेबाट क्याम्पसले गर्ने भनेको मध्यसत्र परीक्षा पनि बहिस्कार गर्ने जनाएका छन् । भाषा माध्यमको समस्या विश्वविद्यालय अन्तरगतका कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसमा पनि रहेको बताइएको छ । माग सम्बोधन नभए आन्दोलनलाई थप आक्रामक बनाउने विद्यार्थीहरूको चेतावनी छ ।