धनगढी। निर्वाचन आयुक्त डा. जानकी तुलाधरले स्थानीय तह निर्वाचनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । शनिवार आयोगले कैलालीको धनगढीमा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले निर्वाचन सफल पार्नमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरिन् । उनले आयोगले संविधानले तोकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताइन् ।बदर मत सङ्ख्या घटाउनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनको भनाइ थियो । सबै एकताबद्ध भएर स्थानीय तहको चुनाव सफल पार्नु पर्ने उनको भनाई छ ।तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने औल्याइन् । ‘स्वच्छ पत्रकारिता लोकतन्त्रको आधार हो’ आयुक्त तुलाधरले भनिन्, ‘त्यसैले पत्रकारहरुले आफ्ना आचारसंहिता सहित निर्वाचन आचारसंहितालाई ख्याल गरेर काम गर्नुपर्छ ।’
नागरिकलाई सही सुचना दिने र कुनै दलले निर्वाचन आचारसंहिता उल्लघंन गरेको खण्डमा सचेत गराउन मिडियाको भूमिका रहने उनले बताईन् । निर्वाचनका सम्बन्धमा विभिन्न सुचनाको लागि ११०२ मा समेत फोन गर्न तुलाधरले आग्रह गरेकी छन् । यो बाहेक आयोगले सामाजिक सञ्जाल नियन्त्रणका लागि समेत संयन्त्र गठन गरेर काम गरिरहेको समेत उनले जानकारी दिईन् । यस्तै पत्रकार महासंघका महासचिव रोशन पुरीले चुनावको समयमा संवेदनशील भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न अनुरोध गरे ।
राजनीतिक दलका समाचार लेख्दा पक्ष र विपक्ष नभएर सन्तुलन मिलाएर लेख्न पनि उनले अपिल गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चार जगत र पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुति गरेका थिए । उनले सबै राजनीतिक दलसंग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।यसैगरी, मत बदर सङ्ख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गरे । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उनले भने । कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रको बारेमा जानकारी गराएका थिए । उनले स्थानीय तहको निर्वाचन निर्देशिका अनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको बताए । ‘छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छपाइ भएको छ’, उनले भने । उनले कैलालीका लागि दुई लहरको चुनाव चिन्ह रहेको मतपत्र रहने बताए ।