कैलाली। वैज्ञानिक वन खारेज भएको करिब १५ महिनापछि वैज्ञानिक वन कार्यक्रम ब्युँताउन वन तथा वातावरण मन्त्रालयले औपचारिक छलफल सुरु गरेको छ।
वैज्ञानिक वनका नाममा अत्यधिक मात्रामा हरिया रुख काटिएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ को माघ ११ मा उक्त कार्यक्रम खारेज गरेको थियो। विगतमा वैज्ञानिक वन लागू भएका सामुदायिक, साझेदारी र चक्ला वनमा उक्त कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भनेर बुधबार मन्त्रालयले विभागीय र महाशाखा प्रमुखहरुसँग छलफल गरेको हो।
‘वन व्यवस्थापनको पछिल्लो अवस्था अध्ययन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदन’लाई आधार मानेर मन्त्रालयले वैज्ञानिक वन कार्यक्रमलाई ब्युँताउन छलफल सुरु गरेको हो । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज भएपछि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएका वनहरुको अवस्था र समूहहरुलाई परेको समस्या समाधान गर्न’ भन्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले गत माघ २३ मा सहसचिव डा.राजेन्द्र केसीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएका थिए।
कार्यदलमा सूदूरपश्चिम प्रदेशको वन मन्त्रालयका सचिव देवेशमणि त्रिपाठी, त्रिविको वन विज्ञान अध्ययन संस्थाका प्रा.डा.राजेश राई, स्वतन्त्रविज्ञ डा.नागेन्द्रप्रसाद यादव र डिभिजन वन कार्यालय, महोत्तरीका प्रमुख विनोद सिंह सदस्य थिए। मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेका अनुसार त्यही कार्यदलको प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भनेर बुधबार मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलको उपस्थितिमा सहसचिवहरुबीच छलफल भएको हो। ‘प्रतिवेदन कार्यान्वयन गराउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने भन्ने छ’, काफ्लेले प्रस्ताव के लैजाने भन्ने टुंगो नलागेको जानकारी दिएका छन्। प्रतिवेदनमा ‘यस वर्ष पनि पुनरुत्पादन कटान नभएमा वनमाथि पर्ने नकरात्मक असर बढ्दै जाने र उपभोक्ताहरुको काठ दाउराको मागको पूर्ती हुन नसक्ने भएकाले वैज्ञानिक वन कार्ययोजना स्विकृत भएका वनमा यस आर्थिक वर्षका लागि कटान, ढलापडा संकलनलगायत वन सम्वर्द्धन सुचारु गर्न मन्त्रालयले अनुमति प्रदान गर्नुपर्ने’ सुझाव दिइएको छ ।
त्यही सुझावलाई टेकेर मन्त्रालयले वैज्ञानिक वन कार्यक्रम ब्युँताउन खोजेको हो । कार्यदलको संयोजक रहँदा वन तथा भू–संरक्षण विभागमा उपमहानिर्देशक रहेका डा.केसी अहिले विभागमा महानिर्देशक छन् । मन्त्री यादवले मन्त्रालयका अन्य बरिष्ठ सहसचिवहरुलाई पन्छाएर चैत पहिलो साता डा.केसीलाई महानिर्देशक बनाएका थिए। प्रतिवेदनमा ७७६ वटा सामुदायिक वन, ३१ वटा साझेदारी वन र ७ वटा चक्ला वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना निर्माणका लागि कम्तिमा ५० करोड रुपैयाँ लगानी गरिएको उल्लेख गरिएको छ । ५८ जिल्लामा वैज्ञानिक वन लागु भएको भए पनि १० जिल्लाहरु बाँके, कैलाली, कपिलवस्तु, रुपन्देही, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी र सिन्धुलीका ११ वटा सामुदायिक वन, ४ वटा साझेदारी वन, १ चक्ला वनमा स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरिएको हो ।
प्रतिवेदनमा वन व्यवस्थापनका लागि तात्कालिक र दीर्घकालिन गरी दुई सुझाव दिइएको छ। तात्कालिक सुझावअन्तर्गत् चालु वर्ष र वैज्ञानिक वनको कार्ययोजना बाँकी भएका वनका हकमा यो वर्ष कटान मुछान गर्ने समय करिब ३ महिना भन्दा कम बाँकी भएको अवस्थामा सामुदायिक वनहरु सरल किसिमको उपभोक्तालाई थप कुनै आर्थिक भार नपर्ने गरी पुरक योजना सम्वन्धित डिभिजन वन कार्यालयबाट स्विकृत गराई दिगो व्यवस्थापनलाई सुनिश्चित हुने गरी कार्यक्रम सुचारु गर्न सुझाइएको छ । ‘रुख कटान, ढलापडा, संकलन गर्दा कुनै किसिमको कमी कमजोरी हुन नदिन, वन पैदावार संकलन, विक्रिवितरणलाई थप पारदर्शी बनाउन प्रदेश वन निर्देशनालय र प्रादेशिक मन्त्रालयहरुले कडाईपूर्वक नियमित अनुगमन गर्ने’, प्रतिवेदनमा भनिएको छ, ‘कुनै किसिमको कमी कमजोरी भएमा उक्त समुह र सम्वन्धित कर्मचारीलाई कानुन बमोजिम तत्कालै कारबाही गर्ने कार्य संघीय तथा प्रादेशिक मन्त्रालयले आपसी समन्वयमा मिलाउने ।’
दीर्घकालिन सुझावका रुपमा कार्ययोजनाको अवधि सकिएपछि वनको अवस्था हेरी कुन वन सम्वर्द्धन प्रणाली अपनाउने हो उपभोक्ताहरुसँगको छलफलमा निर्क्योल गर्न भनिएको छ । ‘वन व्यवस्थापनमा उपभोक्ता समूहहरुलाई आर्थिक अभाव हुन नदिन डिभिजनस्तरमा कार्ययोजना निर्माण तथा कटानीको लागि घुम्ति कोषको व्यवस्था गर्ने वा वित्तिय संस्थाबाट ऋण लिनसक्ने व्यवस्था मिलाउने’, प्रतिवेदनमा सुझाव छ, ‘हरेक डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र कति क्षेत्रफलमा कस्तो वन सम्वर्द्धन प्रणाली अपनाउन सकिन्छ भन्ने लेखाजोखा राख्ने ।’ प्रतिवेदनमा चुरे क्षेत्रमा १९ डीग्रीभन्दा कम भिरालो र सोभन्दा बढी भिरालो भएको वन क्षेत्रलाई दुई भिन्न वनका रुपमा व्यवस्थापकीय खण्डमा विभाजन गरी एकमा ‘सेल्टरउड’ र बढी भिरालो भएको स्थानमा ‘सेलेक्सन सिस्टम’ अपनाउन भनिएको छ ।
७७६ सामुदायिक वन, १५ वटा साझेदारी वन र ६ वटा चक्ला वनमा वैज्ञानिक वन कार्यक्रम लागु भएको थियो । सबैभन्दा धेरै कैलालीमा (९२ वटा सामुदायिक वन), सिन्धुलीमा (८९ सामुदायिक वन) र नवलपरासी बर्दघाट–सूस्ता–पूर्व (४८ वटा सामुदायिक वन) मा उक्त कार्यक्रम लागु भएको थियो । प्रादेशिक हिसाबले हेर्दा सबभन्दा बढी लुम्बिनीमा २२८ वटा सामुदायिक वनमा वैज्ञानिक वन लागु भएको थियो। वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएका ७७६ वटा सामुदायिक वनहरुको क्षेत्रफल १ लाख ८९ ६ सय ५० हेक्टर रहेको छ । नेपालको सम्पूर्ण सामुदायिक वन उपभोक्ता समुहहरु (२२५१९ वटा) मध्ये करिब ३.३ प्रतिशत र क्षेत्रफलका दृष्टिकोणबाट ७।८ प्रतिशत सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना तयार भई स्विकृत भएका थिए । प्रतिवेदनमा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज हुनुपूर्व वैज्ञानिक वन व्यवस्थापनबाट वन पैदावारको उत्पादनमा उल्लखनीय वृद्धि भई स्थानीय तथा राष्ट्रिय माग पूर्तीमा महत्वपूर्ण भूमिका खेलेको’ उल्लेख छ, ‘वैज्ञानिक वन मूलतः तुलनात्मक रुपले ठूला क्षेत्रफल भएका सामुदायिक वनहरुमा कार्यान्वयनमा आएको पाइएको छ ।
’वैज्ञानिक वन सामुदायिक वनको विकल्प नभई सामुदायिक वनभित्र गरिने एउटा व्यवस्थापन पद्दती मात्र भएको र हालसम्म वैज्ञानिक वन व्यवस्थापन रुपमा सागरनाथबाहेक अन्य कुनै पनि वनमा सरपट कटान गरेको नदेखिएको प्रतिवेदनमा छ। सामुदायिक वनबाहेक कार्ययोजना तयार भएका ३१ वटा साझेदारी वन (कुल क्षेत्रफल ७६.०१२ हेक्टर) व्यवस्थापन समुहहरुमध्ये करिब १५ (३४, २९१ हेक्टर) मा वैज्ञानिक वन व्यवस्थापन क्रियाकलपाहरु वैज्ञानिक वन व्यस्थापनको कार्यविधि, २०७१ कार्यविधि खारज हुनुपूर्वभन्दा पहिले नै सञ्चालन रहेको उल्लेख गरिएको छ। वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाले ओगटेको कूल क्षेत्रफल २ लाख ३५ हजार ६ सय २७ हेक्टर भए पनि कटान भएको क्षेत्रफल जम्मा करिब ३ हजार हेक्टर मात्र छ। सबैभन्दा बढी लुम्बिनी प्रदेश र सबैभन्दा कम मधेश प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएका सामुदायिक वन रहेका छन्। प्रतिवेदनमा वैज्ञानिक वन खारेज भए पछि विदेशबाट काठको आयातमा उल्लेखनीय वृद्धि भएको दाबी गरिएको छ । वीरगञ्ज भन्सार नाका भएर आउने काठको परिमाण खारेज हुनुपूर्व आव २०७६/७७ मा ९ हजार ४ सय ६३ घनमीटर प्रतिवर्ष रहेकामा खारेजीपछि आव २०७७/७८ मा १९ हजार १ सय ५१ घनमीटर आयात भएको उल्लेख छ ।
‘वैज्ञानिक वन कार्यविधि खारेज हुनुपूर्व वैज्ञानिक वन व्यवस्थापनबाट वन पैदावारको उत्पादनमा उल्लेखनीय वृद्धि भई स्थानीय तथा राष्ट्रिय माग पूर्तीमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘त्यो बेला वन पैदावारको उत्पादनमा वृद्धिको साथै सामुदायिक वन उपभोक्ता समुहहरुको आम्दानीमा वृद्धि भै विकास निर्माण र जीविकोपार्जनका कार्यक्रम सञ्चालन भएका छन् ।’ प्रतिवेदनमा आर्थिक कोषको अभावमा वन व्यवस्थापनका क्रियाकलापहरु मुख्यतः झाडी सफाई नहुँदा विगतमा हुर्किएका पुनरुत्पादनहरु पनि संकटमा पर्न थालेको दाबी गरिएको छ। ‘बारा र सर्लाहीका साझेदारी र सामुदायिक वनहरुमा मिचाहा प्रजातिको बढ्दो प्रकोपले पुनरुत्पादनहरु मर्न थालेका छन् र व्यवस्थापन गरिएका प्लटहरु झाडीमा परिणत हुँदैछन्’, प्रतिवेदनमा छ, ‘वन व्यवस्थापन नहुँदा वनभित्रै ढलापडा तथा झिजामिजा रहने हुँदा आगलागी पनि बढ्ने देखियो।’प्रतिवेदनमा वैज्ञानिक वन लागू भएका समूहले आर्थिकरुपमा फाइदा दिए पनि कार्यान्वयनका लागि तयार पार्नुपर्ने लगानी पनि चुनौतीपूर्ण देखिएको उल्लेख छ। वनको कार्ययोजना बनाउने खर्च र कटान गर्दा लाग्ने खर्च जुटाउन समूहहरुले अनौपचारिक स्रोतबाट ऋण लिनेरदिने गरेको पाइएको छ। यस्तो प्रवृत्तिलाई पूर्णरुपमा निरुत्साहित गर्न सुझाइएको छ । विगतका अध्ययन र सम्बद्ध विज्ञहरुका भनाइमा वैज्ञानिक वनका समूहहरुमा काठ ठेकेदारको प्रत्यक्ष लगानी हुने गरेको थियो।कान्तीपुरबाट


