काठमाडौँ। निर्वाचन आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनका क्रममा ३९ जिल्लाका लागि ७० लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिएका हुन्।
निर्वाचन तयारीलाई तीव्र गतिमा अगाडि बढाइरहेको आयोगले ३९ जिल्लाका लागि मतपत्र छपाइको काम सम्पन्न गरेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज (२०७९ वैशाख १ गते बिहीबार)सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ।
आयोगले भनेको छ, हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ। आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छपाइ सुरु गरेको थियो । दुर्गमका जिल्लामा सुगमका जिल्लामा भन्दा अगावै मतपत्र ढुवानी गरिसक्नुपर्ने भएकाले पहिले ती जिल्लाका लागि मतपत्र छपाइ गरिएको हो। आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।


