अछाम। अछाममा तीर्थ गर्न गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेद प्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।
मंगलसेन नगरपालिका वडा नम्बर ३ मा कैलाश खोला र बुढीगंगा नदीको दोभान जिम राडीमा नुहाउने क्रममा नदीको भँगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए । बुधवार दिउसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिए । मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्च समेत हुन् ।
स्थानीय गंगा माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थिए । हाल ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दै आउनुभएका भण्डारीको निधनले सिङ्गो गाउँ शोकमा परेको छ । तीर्थ जान भन्दै मङ्गलवार घरबाट हिँडेमा भण्डारी सहित गाउँबाट करिब ३०/४० जनाको टोली आज तीर्थस्थल जिम राडीमा पुगेको थियो । उनलाई बचाउन गएका अन्य २ जना सामान्य घाइते भएका जनाइएको छ । उक्त स्थानमा गत चैत्र ३ गते मलामी गएका मंगलसेन ३ लाछिमानेका करिब २८ वर्षका पुरुष मीन बहादुर ढोलीको पनि अस्तु सेलाउने क्रममा डुबेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक गङ्गादत्त बडूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।