काठमाडौं। विश्वभरका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् ।
दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ। फोब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्व डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्व डलर पुगेको छ ।
व्यवसायी चौधरी फोर्ब्सको सुचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सुचीमा निरन्तर रहँदै आएका छन्। नेपाली कँंग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्तिमात्र धनी हुँदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए । ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने,‘आफुसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हु ।
’ यस्तै उक्त सूचीका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९ अर्बपति रहेका छन् । सुचिको सबैभन्दा माथी रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ । २९०.३ अर्व डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ती भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।