धनगढी। धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजलाई नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । जहाजमा सवार यात्रु बमकुमारी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि जहाज नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो ।
‘जहाजभित्र रहेकी उनलाई श्वासप्रश्वासमा समस्या आएपछि करिब ९ः४५ बजे अकस्मात अवतरण गरिएको थियो,’ राँझा विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक (असई) नवराज बमले भने, ‘अहिले उहाँको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।’बमलाई जहाजभित्र सास फेर्न समस्या भएपछि जहाज नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख दिनेश शाहले जानकारी दिए ।
‘जहाजमा चढ्दा आफैँ चढ्नु भएको रहेछ,’ उनले भने, ‘तर जहाजभित्र एक्कासि सास फेर्न गाह्रो भएपछि उपचारका लागि नेपालगञ्ज अवतरण गरिएको हो ।’ २७ जना यात्रु सवार सो जहाज पुनः नेपालगञ्जबाट काठमाडौंका लागि उडको छ ।नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ ।

