कञ्चनपुर। कोरोना महामारीको दुई वर्षको अन्तरालपछि यस पटक पूर्णागिरि मेला सुरु भएको छ । नेपालकोे सिमासंगै जोडिएको भारतको उत्तराखण्ड स्थित पूर्णागिरिमा मेला सुरु भएसँगै महेन्द्रनगर बजार र ब्रह्मदेव बजारमा भारतीय नागरीकहरुको चहलपहल बढेको छ । फागुनको पूर्णीमादेखि सुरु हुने मेला करिब ३ महिना चल्छ ।
महामारीले सुस्ताएको व्यवसाय मेला सुरु भएपछि ब्रह्मदेवसँगै महेन्द्रनगर बजारमा कारोबार बढेको छ। चैते दसैंको नवरात्रिसँगै महेन्द्रनगर बजारमा सिद्धबाबा मन्दिर पुग्ने भारतीय दर्शनार्थीको भीडभाड बढेको छ । मेला अवधिमा ब्रह्मदेव र भिमदत्त नगरपालिकास्थित सिद्धनाथ मन्दिरमा एकै दिन २०/२५ हजारको संख्यामा दर्शनार्थी आउन थालेका छन् ।
फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि शनिबारदेखि दर्शनार्थीको भीड थामिनसक्नु छ । गड्डाचौकीदेखि महेन्द्रनगरसम्मै दर्शनार्थीको पैदल यात्राको लस्कर देखिन्छ । एकै समूहमा दुईरतीन सयको संख्यामा दर्शनार्थी रहेका हुन्छन् । ‘दुई वर्ष बन्द रहेको मेला पुनः विगतकै अवस्थामा देखिँदा सबै हर्षित भएका छन्,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने । कञ्चनपुरको सीमापारि रहेको भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृंखलामा रहेको पूर्णागिरि माताको मन्दिरमा दर्शनपश्चात सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किम्बदन्ती रहेको छ ।
यही मान्यताका कारण हजारौंको संख्यामा भारतीय दर्शनार्थी यहाँ पुग्ने गर्छन् ।होली पूर्णीमादेखि सुरु हुने उत्तराणीयी मेला असारसम्म चल्छ यो अवधिमा भारतको महाराष्ट, लखनउ, खटिमा, बनबासा विभिन्न शहरहरुबाट सिद्धनाथ मन्दिरको दर्शन गर्न यहाँ आउछन्। भारत उत्तर प्रदेशको लखिमपुर केदारीपुरका अनुप बर्मा हरेक वर्ष पूर्णागिरि मेलामा आउँथे । बुबासँगै मेला भर्न आउने गरेका उनी पछिल्ला दुई वर्ष कोरोना संक्रमणका कारण यहाँ आउन सकेनन । यस पटक भने कोरोना संक्रमण कम भएपछि उनी परिवारसहित मेलामा सहभागी भएका छन । सोमबार बिहानै घरबाट हिँडेका उनी साँझ भारततर्फ पूर्णागिरिको दर्शनपछि त्यहीं बसे । मंगलबार बिहानै ब्रह्मदेवस्थित सिद्धबाबाको दर्शन गर्न पुगे । लखिमपुरका बर्मा मात्रै होइन, बर्सेनि गाउँभरिका सबै जना मेला भर्न आउने गरेका छन ।



