डोटी । सुदूरपश्चिम प्रदेशमा तीन लाख २७ हजार पाँच सय दुई मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्या अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० जनाको मतदाता नामावलीमा नाम समावेश भएको छ ।
२०७४ साल असार १४ गते भएको स्थानीय तह निर्वाचनमा यस प्रदेशमा १३ लाख चार हजार ६ सय ४८ मतदाता रहेका थिए । पाँच वर्षको अवधिमा प्रदेशमा २५ प्रतिशत मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार यस अवधिमा कैलालीमा सवैभन्दा बढी एक लाख २१ हजार आठ सय ४५ मतदाता थपिएका छन् ।
यस जिल्लामा गत निर्वाचनमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेकामा हाल पाँच लाख २६ हजार एक सय २५ पुगेका छन् । पाँच बर्षको अवधिमा कैलालीमा ३० प्रतिशतले मतदाता बृद्धि भएका छन् । सुदूरपश्चिम प्रदेशको अर्को तराईको जिल्ला कञ्चनपुरमा पाँच बर्षको अवधिमा २५ प्रतिशत मतदाता वृद्धि भएका छन् । गत निर्वाचनमा यस जिल्लामा दुई लाख ३५ हजार सात सय ३५ मतदाता रहेकामा हाल दुई लाख ९५ हजार तीन सय ५४ मतदाता पुगेका छन् ।
प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये बाजुरा जिल्लामा सवैभन्दा बढी २७ प्रतिशतले मतदाता संख्यामा वृद्धि भएको छ । गएको स्थानीय तहको निर्वाचनमा यस जिल्लाको मतदाता संख्या ६४ हजार नौ सय ५० रहेकामा हाल ८२ हजार ६ सय ९० पुगेका छन् । बझाङ्ग जिल्लामा गत निर्वाचनभन्दा २४ हजार पाँच सय २६ अर्थात् २५ प्रतिशत मतदाता थपिएका छन् । गत निर्वाचनमा बझाङ्गमा कुल मतदाता संख्या ९७ हजार ६ सय ११ रहेकामा हाल एक लाख २२ हजार एक सय ३७ पुगेका छन् ।
पाँच बर्षको अवधिमा अछाम जिल्लामा २२.३४ प्रतिशत मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख २७ हजार सात सय ४२ मतदाता रहेकामा हाल एक लाख ५६ हजार दुई सय ८० पुगेका छन् ।डोटीमा २२.३१ प्रतिशत मतदाता थपिएका छन् । यस जिल्लामा हाल एक लाख २३ हजार पाँच सय ५४ मतदाता पुगेका छन् । गत स्थानीय तहको निर्वाचनमा एक लाख एक हजार २१ मतदाता रहेका थिए । गत स्थानीय तहको निर्वाचन भन्दा दार्चुला जिल्लामा झण्डै २१ प्रतिशतले मतदाता संख्यामा बृद्धि भएको छ । यस जिल्लामा ०७४ को स्थानीय तहको निर्वाचनमा कुल ७३ हजार ५१ मतदाता रहेकामा हाल ८८ हजार दुई सय ८५ मतदाता रहेका छन् ।
डडेल्धुरामा यो अवधिका १४ हजार एक सय ४४ मतदाता बढेका छन् । यस जिल्लामा गत निर्वाचनमा ७५ हजार नौ सय ७५ रहेकामा हाल ९० हजार एक सय १९ पुगेका छन् । यस्तै बैतडीमा यो अवधिका २३ हजार तीन सय २३ मतदाता थपिएका निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । यस जिल्लामा गत स्थानीय तह निर्वाचनमा एक लाख २५ हजार दुई सय ८३ मतदाता रहेकामा ०७९ साल बैशाख ३० गते हुने निर्वाचनका लागि एक लाख ४८ हजार ६ सय ६ मतदाता कायम भएका छन् । गत स्थानीय तहको निर्वाचनमा यस प्रदेशमा कुल मतदाता संख्याको ७७।२१ प्रतिशत अर्थात् १० लाख सात हजार तीन सय ५६ जनाले मतदात गरेको निर्वाचन आयोगको “स्थानीय तहको निर्वाचन, २०७४ एक झलक” नामक पुस्तिकामा उल्लेख छ ।
५० प्रतिशत भन्दा बढी मतदाता तराईमा
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये दुई तराईका जिल्ला छन् । अन्य सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन् । तर मतदाता संख्याको हिसावले तराईका दुई जिल्लामा ५० प्रतिशतभन्दा बढी देखिएका छन् । कुल १६ लाख ३२ हजार एक सय ५० मतदातामध्ये आठ लाख, २० हजार चार सय ७९ मतदाता तराईका दुई जिल्लामा छन् । पाँच बर्षको अवधिका तराईका जिल्लाहरुको मतदाता संख्यामा झण्डै २९ प्रतिशतले बृद्धि भएको छ । पहाडि जिल्लाको मतदाता संख्यामा भने करीव २२ प्रतिशतले बृद्धि भएको छ ।
पुरुषभन्दा महिला मतदाता बढी
सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाता संख्या बढी रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशका कुल १६ लाख ३२ हजार एक सय ५० मतदातामध्ये आठ लाख ३१ हजार चार सय ७० महिला मतदाता रहेका छन् । यो संख्या कुल मतदाता संख्याको करीव ५१ प्रतिशत हो । पुरुष मतदाता संख्या आठ लाख ६ सय ८० रहेका छन् । यस हिसावले सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा ३० हजार सात सय ९० ले महिला मतदाता संख्या बढी छ । प्रदेशका नौ जिल्लामध्ये कैलाली, अछाम, डोटी, डडेल्धुरा, बैतडी र कञ्चनपुर गरि ६ जिल्लामा पुरुषभन्दा महिला मतदाता संख्या धेरै छ । यस्तै, बाजुरा, दार्चुला र बझाङ्गमा महिला मतदाताभन्दा पुरुष मतदाताको संख्या बढी रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणले देखाउँछ ।