धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको बताएका छन्। आज धनगढीमा समाजवादी प्रेस संगठनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन।
सुदूरपश्चिममा अन्य पार्टीमा रहेका केही नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन धनगढी पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी गरेका छन्। उनले भने ‘समयको प्रवाह हाम्रो पक्षमा छ। यो देखेर सबै हिसाबले प्रतिगामी दिशामा लागेकाहरुको प्रवृति छताछुल्ल भएको छ उनले भने। अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको जिकिर गर्दै प्रतिगामी शक्तिहरू त्यसलाई रोक्न ‘न्वारनदेखिको बल’ लगाएर लागिपरेको बताए । तर, उनीहरूको त्यो प्रयास सफल नहुुने उनको भनाइ छ ।
संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उनको जिकिर थियो । यस्तै उनले सत्ता गठबन्धनका बीचमा चुनावी तालमेल गरेर जाने सकारात्मक सहमति भएको बताए । “सकारात्मक सहमतिले जनता उत्साहित छन्,” उनले भने, “तर, जनविरोधीको निन्द्रा हराम भएको छ।”जनविरोधीहरू जथाभावी बोल्न थालेको उनको आरोप छ । उनले भने, “वाम शक्ति र लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर अगामी निर्वाचनमा जाने सहमतिले जनविरोधीहरू विचलित भएका छन् ।
यस्तै धनगढी पुगेका अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत आलोचना गरेका छन् । दिमाग खुस्केको मान्छे जस्तै दिनदिनै जे मुखमा आयो त्यो बोलेको छ,’उनले भने। पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको उनको भनाई छ ।अध्यक्ष नेपालले पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताउँदै गठबन्धनको सवालमा पनि छलफल भइरहेको बताए । आइतबार बिहान धनगढी आएका उनी कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । त्यहाँ नेकपा (एमाले)बाट निर्वाचित वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित ठूलो संख्यामा जनप्रतिनिधि र नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।