कैलाली। कैलालीको दक्षिणी पूर्वी क्षेत्रका किसानलाई अहिले चैते धान रोप्ने चटारो छ । भजनी, जोशीपुर र टीकापुरका किसान धान रोप्न व्यस्त देखिन्छन् । बाढी प्रभावित क्षेत्र भएकाले त्यहाँका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको हो । कैलाली सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला समेत हो । पछिल्ला केही वर्षयता चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।कैलालीमा एक हजार बढी हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक छ । चैतमा लगाएको धान साउनमा पाक्छ । साउनमा पुनः यहाँका किसानले वर्षे धान रोप्ने गरेका छन् । उत्पादन राम्रो हुने, मूल्य पनि राम्रो पाइने भएकाले यहाँका किसानले चैते धान लगाउने गरेको पाइन्छ । “बर्सेनि बाढीको चपेटामा पर्ने क्षेत्र भएकाले पनि वर्षे धान बाढीले बगाउँदा किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ,”
भजनी नगरपालिका–३ की गुलरिया चौधरी भन्छिन्, “त्यही भएर पनि वर्षे धानको सट्टा चैते धानतिर किसान लागेका हुन् ।” डुबानको समस्याका कारण चैते धानतिर किसानलाई अग्रसर गराउन लागिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माको भनाइ छ । चैत धानखेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको प्रमुख शर्माले जानकारी दिए । कैलालीमा यो वर्ष ६९ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ६ हजार ६७ मेट्रिक टन मात्र उत्पादन भएको छ ।