धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वडले फेरि पनि नगरप्रमुख मेयरको पदका लागि पार्टीले टिकट दिने कुरा पक्का भइसकेको बताएका छन् ।
नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा तथा स्वागत कार्यक्रममा उनले नगर प्रमुखको पदका लागि नेपाली काँग्रेसले आफुलाई टिकट दिने कुरामा पक्का भइसकेको बताएका हुन् । उनले सेवकका रुपमा अहिले सम्म काम गरिरहेको बताए। उनले भने, अझै पनि पार्टीले टिकट दिने कुरा लगभग कन्फर्म भइसकेको छ, ‘मैले केही पनि गर्न नसकेनि म तपाईँहरूको भाइ हो दाइ हो छोरा हो र तपाईँहरूको घरको मान्छे हो ।
त्यसैले फेरि पनि मलाई विश्वास गरिदिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।अबको चुनावमा यहाँहरूको आर्शीबाद, सदभाव र सहयोगको अपेक्षा गरेको छु ।’ उनले देशका ७५३ स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिका उत्कृष्ट बनाउन सफल भएको दाबी गरेका छन् ।
नेपालको सबैभन्दा उत्कृष्ट मेयरभित्र आफू परेको उनको भनाई छ । ‘मैले आफ्नै कार्यकालमा काम गर्दै जाँदा सात सय ५३ वटा पालिका मध्ये धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन सफल भएको छु। म देशकै उत्कृष्ट मेयर भित्र पनि पर्छु । कुनै दिन, कुनै ठाउँ, कुनै परिस्थितिमा तपाईँहरूको शिर निहुराउन दिने छैन, म यहीबाट तपाईँहरूको बिचमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’ उनले भनेका छन्।