दार्चुला। दार्चुलामा प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा रहेको टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ ।
बहु वर्षीय खोप कार्य योजना सन् २०१७-२१ को लक्ष्यअनुरूप यही चैत २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यही चैत २५ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रमअन्तर्गत जिल्लाका ३६ हजार ९ सय ४० बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।
टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलको रूपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने उनको भनाइ छ । यो खोप ९६ दशमलव ९० प्रतिशत प्रभावकारी मानिएको छ ।


