अछाम। अछाममा बलात्कारको झुटो मुद्दा दिने एक युवतीलाई जेल चलान गरिएको छ। अछामको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको प्रहरीले जनाएको छ ।
जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको हो। बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो। अछाम प्रहरी प्रमुख रविराज थपलियाका अनुसार आरोपित युवकले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेको भन्दै अदालतले कैद फैसला गरेको हो।
तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ। ती युवतीले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्। झुटा मुद्धामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ। नन्दरामलाई अछाम प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो।