कैलाली । कैलालीमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने/ नगर्नेबारे सत्ता गठबन्धनका दलहरूबीच छलफल भएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको वडा तहसम्मै तालमेल गर्ने विषयमा नेकपा एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा मंगलबार छलफल भएको हो।सो बिषयमा बसेको बैठक विना निष्कर्ष सकिएको नेताहरुले बताएका छन् ।
मंगलबार बसेको एकीकृत समाजवादी पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारी, माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायणदत्त भट्ट राजपाको तर्फबाट गयाप्रसाद चौधरी र जनमोर्चाको तर्फबाट नन्दराज भट्ट उपस्थितीमा बसेको बैठक विना निष्कर्ष सकिएको नेताहरुले बताएका छन् ।
काङ्ग्रेस कैलालीका सभापति भट्टले छ्लफलमा कुनै सहमति नभएको र गठबन्धन गर्दा उपयुक्त हुनेमा छलफल केन्द्रित भएको बताए। सबै पार्टीले जिल्लामा आफ्नो अवस्थाबारे रिपोर्ट ल्याउने र त्यसपछि थप छ्लफल गर्ने कुराकानी भएको उनले भने। बैठकमा एकीकृत समाजवादी दलका नेता सोडारीले पनि गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए। माओवादी इन्चार्ज ज्ञवालीले गठबन्धन गर्नुपर्ने भए चाडै निर्णय गर्नुपर्ने बताएका थिए।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका कैलाली संयोजक लाजुुराम चौधरीले वडा तहसम्मै तालमेल गर्ने विषयमा छलफल र निर्णय गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको बताए। अगामी निर्वाचनमा वडा स्तरसम्मै गठबन्धन गर्ने विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको उनको भनाई छ । ‘सबै पार्टीले आन्तरिक छलफल गरेर मात्र आवश्यक निर्णय लिने सैद्धान्तिक सहमति भएको छ उनले भने।’गठबन्धनमा आवद्ध सबै राजनीतिक दलले आन्तरिक छलफल र विश्लेषण गरेपछि मात्र आवश्यक निर्णय लिइने जनाइएको छ। अब गठबन्धनको अर्को बैठक चैत २३ गते फेरि बस्ने सैद्धान्तिक सहमति भएको बताइएको छ ।

