धनगढी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएकी छिन् । आज धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यही चुनाव लड्छु उनले भनिन। म यहाँका जनतासँग म भिजिसकेको छु त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मन पर्छ, उनले भनिन ०७४ को चुनावमा तीन/चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन । पहिले पनि बर्दिया लगायतका ठाउँमा लड्ने प्रचारित गरिएको थियो तर मैले धनगढी नै छाने, उनले भनिन, आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु ।
पत्रकारको अर्को प्रश्नको जवाफमा नेतृ देउवाले सानातिना मनमुटाब एउटा घर, परिवार बिच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले काँग्रेसको आन्तरिक चुनावका मनमुटाब जनताका बिचको चुनावमा प्रकट नहुने विश्वास गरिन । यस्तै उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् । राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन् ।
उनले भनिन्, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ।”फरक प्रसङ्गमा उनले आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् । उनले भनिन् ‘‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’’स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन कांग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरिन् ।