धनगढी। कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा धरौटी तारेखमा छोडिएका ३ जना फेरि पक्राउ परेका छन्। उक्त मुद्दाको पुनरावेदन हुदा उनीहरुलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलाली जिल्ला अदालतबाट धरौटी तारेखमा छोडिएकोमा मुद्दाको पुनराबेदन हुदा मिति २०७८फागुन ५ गतेको उच्च अदालतका आदेशले तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई समातेको हो।पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड्का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका छन्।
उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरुलाई पक्राउ गरी आज मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको कात्तिक २३ गते हत्या भएको थियो। भुपेन्द्र बडुवालको हत्या टीकापुर नगरपालिका वडा नं. १ मा भएको थियो । उनको हत्या आरोप लागेका ८ जना अझै पनि फरार रहेका छन्। भने, १२ जनालाई पक्राउ गरी कैलाली प्रहरीले अनुसन्धान गरेको थियो।


