धनगढी। आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो ।आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा भीड लागेको छ । चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् । म्यादी प्रहरीको आवेदन यही चैत ११ गतेसम्म लिइने छ ।देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको छ । आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ९ हजार ९ सय ३७ जना भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा कैलालीबाट २ हजार ४ सय ५७, कञ्चनपुरबाट १ हजार ४ सय ६९, बैतडीबाट ८ सय १५, दार्चुलाबाट ७ सय ४२, डोटीबाट ८ सय १०, डडेल्धुराबाट ६ सय ५२, बझाँङबाट १ हजार ९३, अछामबाट १ हजार २ सय ३१ र बाजुराबाट ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ। म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।