धनगढी। सेती प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा नरबहादुर शाह(निर्मल) नियूक्त भएका छन। बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकले रिक्त रहेको सेती प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य शाहलाई नियूक्त गरिएको माओवादी केन्द्र धनगढी सचिव रमेश प्रसाद भट्टराईले जानकारी दिए । उनले सुप प्रदेश कमिटी सदस्य शाह (निर्मल)लाई कार्यकाल सफलताको शुभकामना सहित बधाई ब्यक्त गरेका छन्।
यस्तै डोटीबाहेकका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियूक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त गर्ने निर्णय भएको हो सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन –डोटी जिल्ला अस्पतालको सबै प्रक्रिया पुगिसकेको छ । नियूक्त हुने मान्छेको कागजपत्र प्राविधिक कारण आउन नसकेको भनिएको छ ।
अन्य जिल्ला तथा प्रादेशिक अस्पतालमा नियूक्त भइसकेका छन । मन्त्री जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियूक्त भएका छन । यस्तै, टीकापुर अस्पतालमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त भएका छन । यस्तै, बिहिबारको बैठकले विभिन्न निर्देशिका तथा नियमावलीहरु पनि स्वीकृत गरेको छ । बैठकले सुदूरपश्चिम प्रदेश अनुगमन तथा मूल्यांकन निर्देशिका २०७८, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी नियमावली २०७८ र प्रदेश वन नियमावली २०७८ स्वीकृत गरेको छ ।


