कैलाली। कैलालीको कैलारी गाउँपालिकाले आज देखि लालपुर्जा (निस्सा) वितरण कार्यक्रम गाउँपालिकामा सुरु गरेको छ। गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) (निस्सा) वितरण कार्य सुरु गरेको हो ।
बुधबार वडा नम्बर ७ स्थित हौसलपुर र मोहनपुर गाउँका भूमिहीन, अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको जानकारी दिए । उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए ।
‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष चौधरीको भनाइ थियो ।उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए । ‘तपाईहरुको पूर्जा छैन । त्यो नहुँदा पसल सञ्चालन गर्नसमेत नातागोताको सहारा लिनु परेको छ । बैंकले ऋण दिदैंन’, उनले भने । ‘अब तपाईहरुको आत्मसम्मानको समय सुरु हुँदैछ। उनले जग्गाको लालपूर्जा संघीय मन्त्रीले आएर वितरण गर्ने बताए ।’ कैलारीको वडा नम्बर ७ बाट शुरु भएको लालपुर्गा वितरण कार्यक्रम विस्तारै ९ वटै वडामा शुरु हुने गाउँपालिका उपाध्यक्ष लक्ष्मी थारु सतगौयाले जानकारी दिइन् ।
उनले यो लालपुर्जा वितरणले धेरै नागरिकको जिवनमा आमुल परिवर्तन आउँने दावी गरिन् । अपाध्यक्ष चौधरीले कैलारी गाउँपालिकाका करिब ८ हजार भुमिहिन दलित, सुकुम्बासी, अब्वस्थीत बसोवासी अहिले निस्सा लालपुर्जा वितरण गरिएपनि पछि स्थाई लालपुर्जा पाउँन यसले महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताइन् । उनले जग्गाको लालपूर्जा पाउनका लागि १० वर्षदेखि भोगचलन गरेको हुनु पर्ने र वडा कार्यालयमा कर बुझाइएको हुनु पर्ने बताइन् । उपाध्यक्ष सत्गौंवाले गाउँपालिकाको न्यायिक समितिमा बढी जसो ऐलानी पर्ती जग्गाको विवाद आउने गरेको उल्लेख गरिन् । ‘कित्ता काटको क्रममा साँध, सीमाको सवालमा मिलेर सबैले एक-अर्कालाई सहयोग गर्नु होला’, उनले भनिन् । लामो समय पछि गाउँपालिकाले निस्सा लापुर्जा वितरण गरेकोमा स्थानीय नागरिक पनि खुशी छन् । उनिहरुले अब गाउँपालिकाले चाडै गाउँपालिका तथा जनप्रतिनिधी संग स्थाई लालपुर्जा वितरण गरिदिन माग गरेका छन् ।
लालपुर्जा वितरण कार्यक्रममा बोल्दै कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विस्तार जनता संग स्थानीय चुनावमा गरेका प्रतिबधताहरु पुरा हुदै गएको बताए । उनले, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनका क्षेत्र उल्लेख सुधार भएपनि लालपुर्जा वितरण चाहदा चाहदै पनि केहि ढिला भएको बताए । उनले कैलारीका गरिब तथा पिछडीको वस्तीलाई आफुनो नेतृत्वको स्थानीय सरकारले गरेको काम केहि वृद्धिजिवी तथा विरोधी लाई मन नपरेको हुदाँ लालपुर्जा वितरण लाई पनि उनिहरुले मजाक बनाउँन सक्ने भन्दै नागरिक लाई सचेत गराएका छन् ।वडा नम्बर ७ का वडा अध्यक्ष चौधरीले निस्सा पाउने सबैका लागि ऐतिहासिक दिन रहेको बताए । उनले निस्सा वितरणपछि अझै महत्वपूर्ण र जटिल कार्य बाँकी रहेको उल्लेख गरे । ‘पहिलो चरणको कार्यक्रम पश्चात अब हामी झन जटिलतातिर गइरहेका छौं’, उनले भने । शतप्रतिशत समथर भुभाग रहेको कैलारी गाउँपालिकाको पश्चिममा धनगढी उपमहानगरपालिका, तथा पुर्वमा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका पर्देछन् । गाउँपालिकामा मोहना, लिक्मा, कटैनी, घराहा, तथा घुरही नदी रहेका छन् ।
कटानीले गर्दा कैलारी गाउँपालिका वडा नम्बर ७ का धेरै नागरिक भुमि विहिन छन् । जसलाई मध्येनगर गदै गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ७ लाई महत्व दिएको कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल दहितले जानकारी दिए । उनले निस्सा पुर्जा वितरण पछि पनि अन्य केहि समस्या आए स्थानीय नागरिक लाई पहिलो प्राथमिकता राखेर निर्णय गरिने बताए ।गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० गरी ८८ परिवारलाई जग्गाको निस्सा वितरण गरेको छ । निस्सा पाएपछि स्थानीय खुशी भएका छन् । आफूले ४० वर्षदेखि १७ कट्ठा ऐलानी जग्गा उपभोग गर्दै आएको उल्लेख गर्दै हौसलपुरका सोहनलाल चौधरीले त्यो जग्गा आफ्नो नाममा बनाउने प्रक्रियामा गएपछि खुशी लागेको बताए । ‘ऐलानी जग्गा खनजोत गरेको तीन पुस्ता भइसक्यो’, उनले भने । ‘तर, अहिलेसम्म जग्गा आफ्नो नाममा छैन । अब लालपूर्जा पाउने प्रक्रियामा गएपछि खुशी लागेको छ ।’ हौसलपुरकै मिना चौधरीले जग्गाको निस्सा पाउँदा खुशी लागेको बताइन् । ‘१४/१५ कट्ठा ऐलानी जग्गा उपभोग गर्दै आएका छौं’, उनले भनिन् । ‘त्यो हामीले नै खनजोत गरिरहेको प्रमाण गाउँपालिकाबाट पाउँदा खुशी लागेको छ ।’
निस्सा वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, गाउँ सभा सदस्यहरु, सबै गाउँका भलमन्साहरु, सामुदायिक वनका पदाधिकारी, वडा कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य मुसम्फीदेवी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक शाखा प्रमुख यगम कलेलले सञ्चालन गरेका थिए । जिल्ला सदरमुकाम धनगढी देखि २७ किलोमिटर पुर्वमा अवस्थीत रहेको कैलारी गाउँपालिकाको कार्यालय हसुलिया कैलालीमा पर्दछ । 





