काठमाण्डौ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने भएको छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगबारे छलफल हुने दिन र समय तोक्नुहुनेछ ।
जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमा ९५ जना सांसदहरूले समर्थन जनाएका छन्। प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसदमा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परिसक्नुभएको छ। संसद्को आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची पनि छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । अन्यथा, सभामुखले मार्गप्रशस्त गर्नुपर्ने अडान छ । सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आउनुभएको छ ।


