कैलाली। अटो भाडाको बिषयमा बिवाद हुँदा धनगढीमा भारतिय नागरिकको हत्या भएको खुलेको छ। फागुन २३ गते धनगढी उप महानगरपालिका वडा नम्बर ५ केराबारी स्थित सडक किनारको नालीमा शव भारतिय नागरिक कुल्दीप गुप्ताको शव भेटिएको थियो।
गुप्ताको हत्या अटो भाडाको बिषयमा बिवाद भएपछि भएको प्रहरीले जनाएको छ। भारतको उत्तरप्रदेश साहजापुुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले गुप्ताको हत्या आरोपमा बाजुरा खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरेको हो । उनीहरुले भाडाको विषयमा विवाद हुँदा गुप्ताको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भाडाको विषयमा विवाद हुँदा हत्या गरेको उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिश्व अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । फागुन २३ गते बिहान ८ बजे सडक किनारको नालीमा गुप्ताको शव भेटियो । शव फेला परेपछि कैलाली प्रहरीले विशेष अनुसन्धान टोली खटायो ।
प्रहरीले सीसीटिभीमा रेकर्ड भएका भिडियोहरु हेर्छ । भिडिओमा २२ गते गुप्ता कारागार सडकको पश्चिमतर्फ गएको देखिन्छ । प्रहरीले आज बिहान ८ बजे प्रहरीले गुप्ता चढेको अटो पहिचान गरी अटो चालकलाई नियन्त्रणमा लिएपछि चालक र उनका साथीले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक अधिकारीको भनाई छ । अटो भाडाको बिवादपछि हत्या गरिएका गुप्ताले नेपाली भन्दै होच्याएर बोलेपछि लाठीले हिर्काएको अभियुक्तहरुले बयान दिएका छन् । मार्ने उद्देश्य भन्दापनि सामान्य विबादमै घटना घटेको प्रहरीले जनाएको छ।


