दार्चुला। दार्चुला सदरमुकाम खलंगाको बांगाबगर क्षेत्रमा भारतले एक्स्काभेटर प्रयोग गरी महाकाली नदीको धार नेपालतर्फ फर्काएको छ ।
अन्तर्राष्ट्रिय सीमा नदी मिचेर पक्की तटबन्ध बनाइरहेको भारतीय पक्षले करिब सय मिटर क्षेत्रमा साँघुरिएर बग्ने गरी पानीकै धार फर्काएको हो । भारतीय तटबन्ध र नदीको बदलिएको धारका कारण वर्षातमा बाढीले नेपालपट्टि क्षति गराउने जोखिम उच्च बनेको छ ।
स्थानीयका अनुसार भारतीय पक्षले केही दिनदेखि बांगाबगरमा एक्स्काभेटर प्रयोग गरेर आफ्नै क्षेत्रपट्टि ढुंगा पन्छाइरहेको थियो । बिहीबार भने एक्स्काभेटरले नदीको बीचबाटै ढुंगा निकाल्न थालेपछि वारिका ४०/५० जना किनारमा पुगेका थिए । ‘वारिबाट होहल्ला भएपछि एक्स्काभेटर पारि लगेर काम रोके जस्तो गरे ।
त्यसपछि वारि कोही नभएको मौका छोपेर नदीको बहाव नेपालतर्फ फर्काएछन्,’ बांगाबगरका विक्रम बडालले भने । भारतीय पक्षले मंगलबार लास्कु खोलानजिक पनि महाकालीको बहाव परिवर्तन गर्ने गरी एक्स्काभेटर चलाउँदा बांगाबगर र पारि खोतिलाका बासिन्दाबीच ढुंगा हानाहान भएको थियो । लगत्तै दुवैतर्फ आएका सुरक्षाकर्मीले उनीहरूलाई थामथुम पारेपछि एक्स्काभेटर फर्काइएको थियो ।
बिहीबार नदीको धार फर्काएको क्षेत्र भने उक्त स्थानभन्दा करिब डेढ सय मिटर तल पर्छ । लास्कु खोलानजिक भारतीय पक्षले तटबन्धको जग खनिरहेको छ । बांगाबगरपारि भने भारतले पुरानो तटबन्ध नभत्काई नदी मिचेर नयाँ पक्की तटबन्ध बनाइरहेको छ । निर्माणाधीन तटबन्धले नदीको धार नेपालतिर फर्काउने र वर्षायाममा बढी क्षति पुग्ने चिन्ता वारिका बासिन्दाको छ । भारतीय तटबन्धका कारण २०७० सालको बाढीले बांगाबगर क्षेत्रका १ सय ५६ घर बगाएको थियो । त्यति बेला नदीले धार बदल्दा नेपालीको घर भएको जमिन नदी पारिपट्टि परेको छ । गएको वर्षातमा महाकालीमा आएको बाढी बांगाबगरस्थित नेपालपट्टिको तटबन्धमाथि चढेको थियो । ‘भारतले साँघुरो पक्की तटबन्ध बनायो भने बाढीले हाम्रो क्षेत्रतर्फ ठूलो क्षति गराउँछ,’ स्थानीय वीरेन्द्रसिंह बडालले भने, ‘पानीको बहाव रोक्ने ढुंगा पनि भारतीय पक्षले आफ्नोपट्टि लगिरहेको छ ।’
भारतीय पक्षले नेपालसँग समन्वय नगरी अन्तर्राष्ट्रिय सीमा नदीमा तटबन्ध निर्माण गरिरहेको हो । तटबन्ध १ किलोमिटर लम्बाइ, ७ मिटर चौडाइ र ९ मिटर उचाइको पक्की हुने जनाइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साँझतिर बांगाबगर क्षेत्रमा भारतीय एक्स्काभेटर नदीको बीचमा आएको सुनिएको बताए । भारतीय पक्षले अन्तर्राष्ट्रिय सीमा नदीमा संरचना निर्माण थालेको दुई महिना हुँदासमेत समन्वय नभएको उनले बताए । ‘मौखिक रूपमा फोनमार्फत कुरा भए पनि चुनावको कारण देखाउँदै छलफलमा बस्न चाहेका छैनन्,’ प्रजिअ उपाध्यायले भने ।
ढुंगा हानाहान हुन थालेपछि निगरानीका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी नदीछेउमा खटाइएको छ । नेपाली सुरक्षाकर्मी भारतीय पक्षले काम गरिसकेपछि मात्र पुग्ने गरेको स्थानीयको आरोप छ । भारतले कुनै पनि बेला नदीको धार फर्काउन सक्ने आशंकामा बांगाबगरका बासिन्दाले मंगलबार र बुधबार पनि नदीमा निगरानी गरेका थिए । ‘भारतले सीमा क्षेत्रमा एकतर्फी रूपमा तटबन्ध बनाइरहेको छ । महाकालीवारि आएर ढुंगा लैजाँदा पनि सशस्त्र प्रहरीलाई पत्तै चल्दैन, स्थानीय आफैंले भारतीयको ज्यादती रोक्नुपरेको छ,’ स्थानीय जमनसिंह मन्यालले भने ।
नेपालतिर सर्वसाधारणबाट भइरहेको सांकेतिक विरोध समयमै व्यवस्थापन नगरिए सीमामा थप विवाद हुन सक्ने स्थानीय बताउँछन् । समस्यालाई समयमै समाधान गर्न दुवैतर्फका नेता तथा प्रशासकले छलफल गर्नुपर्ने उनीहरूको भनाइ छ । बांगाबगर क्षेत्रका बासिन्दाले भारतले सीमा नदी महाकालीमा बलमिचाइ गरेर खलंगा बजारमा क्षति पुग्ने गरी पक्की तटबन्ध बनाइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् । स्थानीय लालसिंह धामीको नेतृत्वमा जिल्ला प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा नेपाली क्षेत्रमा क्षति पुग्ने गरी तटबन्ध बनाउने काम नरोकिए आन्दोलन गर्ने चेतावनी दिइएको छ।कान्तीपुरबाट