धनगढी । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी तथा एक्लो उप महानगरपालिका धनगढीमा चुनावी माहोल बिस्तारै बढिरहेको छ।
स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाएपछि प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्न थालेका छन् । स्थानिय चुनावका लागी दलहरुले उम्मेदवार छान्न शुरु नगरेपनि बिस्तारै आकांक्षीहरु भने खुल्दै गएका छन् । संख्यात्मक आधारमा अन्य दलहरुभन्दा ठुलो रहेको काग्रेंसलेनै अहिलेपनि उप महानगरपालिकाको नेतृत्व गरिरहेको छ।
आगामी स्थानिय तहको चुनावका लागीपनि आकांक्षीहरुका नाम चर्चामा आउन थालेका छन् । उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट तीन जनाको नाम चर्चामा छ । धनगढी उपमहानगरपालिकाका अहिलेका मेयर नृपबहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट र नेता कृष्णबहादुर महरा आकांक्षी देखिएका हुन् । तीनै जना संस्थापन पक्षका हुन् । अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन् ।
२०७४ को निर्वाचनमा वड स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७ सय मतले पराजित गर्दै विजयी भएका थिए । उनले अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै लबिङ सुरु गरेका छन् । आफूले धेरै विकास निर्माणको कार्य शुरू गरेको बताउँदै उनले केही सम्पन्न भएको र केही अधुरै रहेकाले त्यसको सफलताका लागि आगामी कार्यकाल समेत आफू उम्मेदवार हुन पाउने पर्ने उनको जिकिर छ । ‘मेरो कार्यकाल संघर्षमय बित्यो । १९ वर्षपछि स्थानीय सरकार आएको अवधि हो ।
कानून निर्माणसँगै सबै वडाहरूमा भौतिक संरचनादेखि अन्य विकास निर्माणको जिम्मेवारी रहेको कार्यकाल हो । महामारीका बीच कार्यकाल बित्दैछ । विकास निर्माण धमाधम भइरहेका छन् । केही सम्पन्न भएका छन्, केही भर्खर शुरू भई सञ्चालनका अवस्थामा छन् । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हुनेछ ।’यता व्यवसायी तथा काँग्रेस नेता महराले पनि मेयरमा आकांक्षा व्यक्त गरिसकेका छन् । २०७४ को निर्वाचनमा पनि उनले टिकट पाउने निकै चर्चा थियो । काँग्रेसका तत्कालिन नेता पुष्करनाथ ओझा लगायतले मेयरमा महरालाई लडाउन केन्द्रमा लविङ गरेका थिए । तर अन्तिम समयमा ओझाले वडको नाममा सहमति गरेपछि महराले टिकट नपाएको चर्चा ०७४ को निर्वाचनमा थियो ।
धनगढीकी उपमेयर भट्टले स्पष्ट रुपमा उपमेयरमा नदोहरिने बताइसकेकी छिन् । उनले मेयर वा प्रदेशसभाको टिकटका लागि लविङ सुरु गरेकी छिन् । सकेसम्म मेयरकै टिकट ल्याउनमा उनले जोड दिएकि छिन् । यस्तै एमालेबाट बर्तमान कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी, निबर्तमान उपाध्यक्ष तथा अध्यक्षमा पराजित रण बहादूर चन्दको नाम चर्चामा छ । उपाध्यक्ष जोशी २०७४ सालको स्थानिय निर्वाचनमा पराजित भएका थिए । त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष समेत भइसकेका जोशी एक पटक धनगढीको मेयर बन्ने जोडबलमा छन् । उनि यस पटक टिकटको लविङमा छन् ।
चन्द बिगत लामो समयदेखी सक्रिय राजनितिमा छन् । एमाले कैलाली जिल्ला सचिवमा रहेर लामो समय काम गरिसकेका चन्द यहाँका कार्यक्रता तथा आम जनतामा लोकप्रिय र ईमान्दार नेताका रुपमा चिनिन्छन् । चन्द बिभिन्न अवशरबाट बञ्चित भएका कारण यस पटक चन्दलाइ टिकट मिल्न सक्ने अनुमान गरिएको छ । माओवादीबाट शान्ति अधिकारी र बल बहादूर ऐरले मेयर लड्ने आकांक्षा देखाएका छन् । अधिकारी गत २०७४ सालको स्थानिय निर्वाचनमा उप मेयर पदमा पराजित भएकी हुन् भने ऐर धनगढी उप महानगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष हुन् ।
टिकटका लागी उनिहरुले पार्टीमा लविङ गरिरहेका छन् । पार्टीले आवश्यक ठानेको अवस्थामा आफूले विगतको अनुभवबाट सिक्दै नयाँ रणनीतिका साथ उम्मेदवारी दिने अधिकारी सुनाउँछिन् । उनले भनिन्, ‘पार्टीले आवश्यक ठानेको अवस्थामा मेरो तयारी स्वाभाविक रूपमै रहन्छ । हामी विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ उपमहानगरको विकासका लागि मेरो तयारी रहन्छ । हामी पनि केही गर्न सक्छौं भन्ने लाग्छ । तर अझै टुंगो लाग्न बाँकी नै छ ।’नेकपा एकिकृत समाजवादी पार्टीबाट राजेश भण्डारी मेयरको उम्मेदवार बन्ने चर्चा छ । उनि मेयरको टिकट पाउनकै लागी एकिकृत समाजवादीमा गएको बुझिएको छ । ‘अहिलेसम्म राजनीतिक दलको सत्ता गठबन्धन कायमै रहेको छ । यसले निरन्तरता पनि पाउँछ।
राजनीतिक दलबाट आकांक्षी देखिनु राम्रो कुरा हो । तर गठबन्धनले निर्णय गरेपछि आधिकारिक होला, एकीकृत समाजवादीबाट मलाई सार्ने कुरा हुँदैछ,’ भण्डारीले भने ।स्वतन्त्रबाट सुन्दर सुदूरपश्चिमका अभियनता तथा ब्यवसायी गोपाल हमालले मेयरमा उम्मेदवारी घोषणा गरिसकेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा बर्तमान मेयर नृप वडसंग पराजित हमालले यस पटकपनि मेयरको उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका उनी सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
हमालले भने ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रुपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिँदैन । धनगढीले मलाई यहाँसम्म पु¥याएको छ । त्यसैले धनगढीलाई मोडेल बनाउने मेरो एउटै लक्ष्य हो । मेरो जीत सबैको जीत हुनेछ ।’हमालले आफूले अन्तिम पटकको लागि उम्मेदवारी दिन लागेको बताएका छन् । उनले अगाडि थपे,‘मेरो उम्मेदवारी अन्तिम पटक हो । एक पटक मलाई परीक्षा दिने मौका दिनोस् । मेरो एउटै लक्ष्य धनगढी बनाउने हो । धनगढीको मुहार हेरेर मात्रै भोट दिन आह्वान गर्दछु । धनगढीवासीलाई गर्व गर्न लायक धनगढी बनाएर देखाउँछु ।’