धनगढी। धनगढी विमानस्थल स्तरोन्नति गर्न सर्भेको काम सम्पन्न भइसकेको छ।
धनगढी विमानस्थल क्षेत्रीयस्तरमा स्तरोन्नतिकालागि आवश्यक पर्ने जग्गाको सर्भे गर्न नागरिक उड्डयन प्राधिकरणले खटाएको टोलीले काम सम्पन्न गरी फर्किइसकेको धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले बताए ।
विमानस्थल प्रमुख रामकृष्ण भट्टले सर्भेको काम सम्पन्नपछि अहिले‘फिल्डमा सर्भे टोलीले निकालेको तथ्यांक र नापीसँग भएको डिजिटल नक्सालाई मिलाउने काम भएको बताएका छन् । अधिग्रहणको काम भने जेठदेखि सुरु हुन सक्ने उनको भनाई छ ।उनले मन्त्री परिषद्को बैठकले प्रारम्भिक जग्गा अधिग्रहण अधिकारीसमेत तोकिसकेको छ भने।
क्षेत्रीय विमानस्थलका लागि आवश्यक पर्ने २ सय ५८ बिघा जग्गा अधिग्रहण गरिने बताए । यसभित्रका भौतिक संरचनालगायत अन्य निजी र सरकारी सम्पत्तिको समेत विवरण लिने काम कन्सल्टेन्सीद्वारा नै भइरहेको छ । मुआब्जा निर्धारण समितिको जिम्मा भने प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्ने प्रावधान छ । नागरिक उड्डयन प्राधिकरण क्यानको ३९२औं बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न नक्सा पारित गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकबाटै आवश्यक पर्ने २ सय ५८ बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको थियो । अहिले धनगढी विमानस्थलमा १८ सय मिटरको मात्रै धावन मार्ग छ । डीपीआर रिपोर्टमा क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २ हजार ५ सय ५० मिटर छुट्टै धावन मार्ग बनाउनुपर्ने प्रस्ताव गरेको थियो । हालको धावन मार्गलाई पार्किङ क्षेत्र बनाइनुपर्ने प्रस्ताव थियो । विमानस्थलका प्रमुख सर्भे टोलीले आवश्यक पर्ने जग्गाका लागि अहिलेको धावन मार्गको पूर्वी सिमानाको उत्तरतर्फ ३ सय ४० देखि ६० मिटर जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।विमानस्थलको पश्चिमतर्फ ६ सय ५० देखि ७ सयसम्म र दक्षिणतर्फ भने ५० देखि २ सय मिटरसम्म मात्रै जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको भट्टले बताए । प्राधिकरणले चालु आर्थिक वर्षमा १ अर्ब बजेटसमेत विनियोजन गरिसकेको बताए । अधिग्रहणको काम सुरु भएपछि सरकारबाट बजेट व्यवस्था मिलाउन आग्रह गरिने उनले बताए ।


