काठमाडौं । हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा १ जना बहालमा रहेका प्रहरी र १ जना पूर्व प्रहरी छन् ।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी-३ धादिङका शंकर रेग्मी, डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा-४ कञ्चनपुरका सुवाष रतोकी छन् । त्यस्तै शुक्लाफाँटा-२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक-८ पाँचथरका भविन्द्र बेगा, नौमुले-५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी-६ प्युठानका कमल सुनार पनि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गत फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका-१६ स्थित राजेन्द्र साँकीको फार्मेसीमा लुटपाट गरेका थिए । उनीहरूले अबैध औषधि बिक्री गरेको भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फागुन १२ मा साढे ७ बजे फार्मेसीमा छिरेको समूहले लुटेर भागेका थिए। फार्मेसीमा गएर उनीहरुले सञ्चालक राजेन्द्र साँकीलाई भने– ‘हामी प्रहरी हौं, तपाइको पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना छ, खानतलासी गर्न आएका हौं।’ खानतलासी गर्ने नाममा उनीहरुले सञ्चालकलाई नियन्त्रणमा लिएर काउन्टरबाट नगद र मोबाइल लुटेर भागेको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए । लुटमा संलग्न रहेको आरोपमा सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी जवान सुवास रतोकीलाई महाशाखाले पक्राउ गरेको छ । २७ वर्षीय रतोकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ झलारीका स्थानीय हुन् ।


