दार्चुला । स्थानीय उत्पादन बिक्रीको थलोका रूपमा रहेको गोकुलेश्वर मेला सुरु भएको छ। प्रत्येक वर्ष शिवरात्रीका अवसरमा लाग्ने मेलामा दार्चुलासँगै बैतडी र बझाङका स्थानीयको परम्परागत उत्पादनले राम्रो व्यापार हुने जिल्लाको यो वर्षको पहिलो व्यापारिक मेला सुरु भएको हो ।
स्थानीय उत्पादनको व्यापारका लागि गोकुलेश्वर मेला प्रसिद्ध मानिन्छ । गोकुलेश्वर मेलामा तीनै जिल्लामा उत्पादन हुने निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडालगायत स्थानीय जडिबुटीसमेत बिक्री हुने गर्छ । व्यापारिक मेलामा यहाँको स्थानीय उत्पादन बजारमा ल्याउन मेलाको पर्खाइमा उद्यमीहरू हुन्छन् ।
घरेलु उत्पादन तिब्बती ऊनी कपडा र हस्तकलाका सामग्रीलगायत दार्चुलाको हिमाली क्षेत्रका बासिन्दाले स्थानीय स्तरमा उत्पादन गरेका जडीबुटी राडी, पाखी, कम्बल, स्वीटरलगायतका सामान बढी मात्रामा खरिदबिक्री हुने गरेको शैल्यशिखर नगरपालिका–९ का दीपक साउदले बताए । तामा, फलाम, आल्मोनियमका भाँडाकुँडाहरूको राम्रो कारोबार हुने गरेको व्यापारीहरूले बताएका छन् । सबैभन्दा बढी यो मेलामा हिमाली क्षेत्रको निगालोका सामान बलियो र राम्रो हुने भएकोले बढी खरिदबिक्री हुन्छ । निगालोबाट बनाएका मट्टा, सुप्पा, डोकाडालोलगायत अन्य सामग्रीको धेरै व्यापार हुने गरेको शैल्यशिखर नगरपालिकाले जनाएको छ । तीन वर्ष अगाडिसम्म व्यापारिक मेलासँंगै विभिन्न सांस्कृतिक कार्यक्रममा सञ्चालन हुन्थे ।
डडेलधुराको जोगबुडालगायत भित्री मधेसमा बनेका ठेकी, हलो लगायतका सामग्रीको समेत व्यापार पाउँछ । ऊनीका तानमा बुनेका राडीपाखी, गलैंचालगायत अन्य चिजहरू मेलाका मुख्य आकर्षक रहेको गोकुलेश्वरका होटल व्यवसायी देवदत्त बिष्टले बताए । यो मेला स्वस्फुर्त रूपमा लाग्छ । विभिन्न ठाउँबाट व्यापारी आउने पसल थापेर बस्छन् । कुनै वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गरेर स्थानीयहरूलाई व्यवस्थापनको जिम्मा लगाउने र व्यापारिक मेला भए त्यति कै लाग्ने गरेको उनको भनाइ छ । यो मेलाले व्यापारसंँगै यहाँका स्थानीयको भेटघाटको समेत अवसर जुराएको हुन्छ ।
दार्चुलाका छिमेकी जिल्लाको संस्कृति संस्कार पनि मिल्ने हुँदा आफन्त तथा इष्टमित्रहरूसित भेटघाट गराउने गरेको बिष्टले बताए । ‘यो व्यापारिक मेलामा स्थानीय मानिसहरू आफ्नो स–सानो उत्पादनले बजार पाउँछ’, उनले भने, ‘मेलामा बिक्रीका लागि ल्याएको वस्तु बेचेर केही स्थानीय आफ्नो मेला खर्च चलाउँछन् ।’ बढी उत्पादन गर्ने मानिसहरू व्यावसायिक रूपमा खरिदबिक्री हुन्छ । सानो घर चलाउने र मेलामा आएको वस्तु किन्नलाई पुग्ने व्यापारी बढी हुने उनको भनाई छ । परम्परागत रुपमा गोकुलेश्वरमा लाग्ने मेला पहाडी उत्पादन बिक्री हुने सुदूरपश्चिमकै ठूलो व्यापारिक मेलाका रूपमा परिचित छ । यस मेलामा स्थानीयका र पछिल्लो समय भारतको पिथौरागढ, हल्दानी, दिल्लीबाट समेत व्यापारी आएका छन् । भारतबाट बढीजसो तयारी पोसाक तथा मिठाईका व्यापारीहरू आएका छन् । हरेक वर्ष यो मेलामा करोडौंको कारोबार हुन्छ । उक्त मेलामा सुदूरपश्चिमको संस्कृति देउडा खेल खेलेर रमाइलो गर्छन् । दार्चुलाको पर्यटकीय विकास, आन्तरिक व्यापार प्रवर्द्धन, कला संस्कृतिको विकासका लागि समेत यसले सहयोग पुग्ने बिष्टको भनाइ छ । व्यापारिक मेलासंगै यहाका स्थानीय कलाकारहरूले पनि आफ्नो कला देखाउने मौका पाएका हुन्छन् ।कान्तीपुरबाट