धनगढी। बुद्ध एयरले आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले अब धनगढी र जनकपुरधामबाट पनि पोखरा सिधा उडान भर्ने जनाएको हो।
यसअघि अन्तरप्रदेश काठमाडौं, भरतपुर र भैरहवाबाट मात्रै पोखरा सिधा उडान भरिरहेको कम्पनीले अब जनकपुर र धनगढीबाट समेत उडान भर्न लागेको जनाएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गर्न धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। आजदेखि सुरु हुने उडान सेवाको एक कार्यक्रमकाबीच उद्धघाटन गर्ने तयारी छ।
आज दिउसो २ बजे पोखराबाट धनगढी पहिलो फलाईट आउने र त्यसमा आउने पर्यटकलाई मुख्यमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ। पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा)का सचिव पदम विक्रम सिंहले धेरै अनुरोधपछि बुद्धले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरेका छन्। उनका अनुसार नाटाले आज धनगढी आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखेको छ। धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुने गरेको छ।

