अछाम। गाउँमा खेती गर्ने युवा भेटिन मुस्किल भइसकेको छ । राम्रो उब्जनी हुने फाँटसमेत बाँझै हुन थालेका छन् । काम गर्ने जनशक्तिको अभाव छ । बस्तुभाउ पाल्ने र घाँस काट्ने काम पनि अत्यन्तै कम हुने गरेको छ ।
यहाँका अधिकांश बस्ती बसाइँसराइले रित्तिन थालेका छन् । बसाइँसराइका कारण पहाडी क्षेत्रमा वनजंगलको भाग बढिरहेको छ । गाउँगाउँमा जंगली जनावर भित्रिन थालेका छन् । चितुवालगायतका जनावर अहिले बस्तीमै पुगेर आक्रमणका घटना सार्वजनिक भइरहेका छन् । सुविधा र अवसरको खोजीमा बसाइँसराइ बढ्दा गाउँघर रित्तिन थालेका हुन् ।
भएका युवाहरू कामको खोजीमा बाहिर जाने र घरमा भएकाले सुविधा खोजीमा सहरबजारतिर झर्ने क्रम बढेसँगै गाउँ रित्ता देखिन थालेका छन् । बैदेशिक रोजगारीमा गएका युवाले पठाएको रकमले तराईतिर बसाइँ सर्ने क्रम बढेपछि गाउँका बस्ती रित्तिन थालेका हुन् । स्तरीय जीवनशैलीको खोजीले जिल्लाका पहाडी बस्तीबाट बसाइँ सर्ने क्रम रोकिएको छैन । पहाडी गाउँमा मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र सञ्चार सुविधा बढ्न थाले पनि बसाइँ सर्नेको क्रम रोकिएको छैन । सदरमुकाममा रहेको मंगलसेन नगपालिकाको तथ्यांकअनुसार २०७४ बैसाखदेखि चैतसम्म ७८ घरपरिवारका ३ सय १० जना बसाइँ सरेका छन् ।
नगरपालिकामा आउनेको संख्या एक परिवारमात्र रहेको सूचना अधिकारी खगेन्द्र रिमालले बताए । उनका अनुसार २०७५ वैशखदेखि असारसम्म २५ परिवारका ८४ जना बसाइँ सरेर गएका छन् । पछिल्ला वर्षमा पनि बसाइँसराइ गरेर जानेको दर घट्न सकेको छैन । गाउँमा बिजुली, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास सोचेजस्तो नभएकाले धेरैले गाउँ छोड्न थालेको तुर्माखादका महेन्द्र बुढाले बताए । ‘मोटरबाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सञ्चार र पूर्वाधार विकास राम्ररी पुगेको छैन । बसाइँसराइ रोक्न गाउँ बस्तीमा विकास पुर्याउनु चुनौती छ ।’ उनले भने ।
मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले शिक्षा, स्वास्थ्यमा लगानि बढाएर बसाइँसराई व्यवस्थित गर्नतर्फ लागेको बताए । शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा भुलाउन सके बसाइँसराइ रोकिने उनले दाबी गरे । ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छौं,’ उनले भने, ‘५ वर्षमा समृद्ध, सहकारीमार्फत आयआर्जन बढाई आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउछौं ।’ माटो परीक्षण गर्ने, फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बनाएपछि बसाइँसराइ घटाउने उनले बताए । सबै विद्यालयमा अंग्रेजी माध्यमको पढाइलाई जोड दिए बसाइँसराइ रोकिन सक्ने शिक्षक काशीराम सुवेदी बताउँछन् । ‘विकासको लागि सबैभन्दा मुख्य आधार शिक्षा हुनुपर्छ । अहिले अंग्रेजीप्रतिको आकर्षण बढ्दो छ । त्यसैले अंग्रेजी शिक्षामा जोड दिनुपर्छ,’ उनले भने ।‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन,’ पूर्वजनप्रतिनिधि गंगाराम भण्डारीले भने, ‘आयआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थिति छ भन्ने कुरा जनप्रतिनिधिले देखाउनुपर्छ । बसाइँसराइ रोक्ने उपाय यही नै हो ।’ उनले सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन् भन्ने अनुसन्धान गरी सुविधाको व्यवस्थापन र सेवा उपलब्ध गराउनमा जोड दिनुपर्ने बताए ।कान्तीपुरबाट मेनुका ढुंगाना


