धनगढी। धनगढीमा आफूलाई अज्ञात व्यक्तिहरुले अपहरण र बन्धक बनाएको भन्दै नाटक गर्ने एक युवक पक्राउ परेका छन्।
डोटीको आदर्श गाउँपालीका ३ घर भई हाल धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझा पक्राउ परेका हुन्। उनले आफुलाई अज्ञात व्यक्तिहरुले अपहरण गरी अज्ञात स्थानमा बन्धक बनाई राखेको भनि परिवार र प्रहरीलाई झुक्याएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीको वडा नम्बर १ बाट प्रहरीले समातेको थियो।
नियन्त्रणमा लिई आवश्यक अनुसन्धानकालागी जिल्ला प्रशासन कार्यालय कैलालीबाट सार्वजनिक मुद्दामा म्याद थप थप गरेर अनुसन्धान भइरहेको जनाएको छ। उनी आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाईको बिहेमा जानु छ भनेर माघ महिनाको २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेकोमा सोही मितिबाट सम्पर्कविहीन भएका थिए।
त्यसपछि उनले घरपरिवारसंग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको भनि झुटो खबर गरेको प्रहरीले बताएको छ। प्रहरी अनुसन्धानबाट उनी सम्पर्कविहीन भएकै दिन (माघ २० गते) आफ्नो प्रेमीकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको खुलेको छ। उनले साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको प्रहरीको भनाइ छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


