धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले साझा अधिकारका बिषयमा कानुन नबनाउँदा प्रदेशमा काम गर्न समस्या भएको बताएका छन्। ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री भट्टले प्रदेश गठन भएको चार वर्ष भइसक्दा पनि साझा अधिकार कार्यान्वयन नहुँदा सुदुरपश्चिम प्रदेश सरकारले सोचेअनुसारको काम हुन नसकेको बताए । प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि साझा अधिकार नभएकै कारण प्रहरी समायोजन, कर्मचारी भर्ना गर्न अप्ठ्यारो भएको उनले बताए । मुख्यमन्त्री भट्टले अहिले पनि एकात्मक सोचले काम गरेको बताउँदै त्यसले अन्य आम नागरीकलाई सेवा दिन नसकिएको बताए। उनले भने “अहिले हामीले तिन ओटा सरकारका एकल अधिकार त हामीले प्रयोग गरिराखेका छौँ । तर साझा अधिकारलाई प्रयोग गर्न नसकेको कारण संघिय सरकारले यो कुरामा सुस्त भई अगाडी नबढाएकोले केही समस्याहरू सिर्जना भएका छन्” उनले भने।
मुख्यमन्त्री भट्टले अहिले प्रदेश सरकारका मन्त्रालयहरूमा कतिखेर प्रशासकीय प्रमुख फेरिन्छन् र कति बेला आउने जाने गर्छन् थाहा नहुने गरेको बताए । “संघिय सरकारको मन लाग्यो भने राखिदिने, मन लाग्यो भने बदली दिने, कसैलाई वषौं सम्म पनि सुविधामा लगेर नजाने, कसैलाई निर्णय गरेर पनि पठाउन नसक्ने जुन प्रकारको एउटा लाचारी पना देखिएको छ । यो सबैभन्दा कमजोर छ । यसले गर्दा संघियता कमजोर हुने र संघियता प्रति एउटा प्रश्न उठिराखेको छ । यसको कार्यकाल पुरा नहुँदै संघियताको आवश्यकता छैन भनेर प्रश्न उठ्न थालेका छन् । चर्चा हुन थालेको छ । प्रचार सुरु भएका छन् । यो हामी सबैले मन पराएको रोजेको व्यवस्थालाई, सबैभन्दा राम्रो संविधान लाई सफल पार्नु नै नेपाललाई सफल पार्नु हो । यदि यसो गर्न नसके जनतामा निराशा पैदा हुने र जनताले अर्को बाटो रोज्न बाध्य हुने छन् ।” उनले भने ।
प्राकृतिक श्रोत हुँदाहुँदै पनि साधनहरू नभएका कारण प्राकृतिक श्रोतलाई परिचालन गर्न नसकेको उनको भनाई छ । सुदूरपश्चिम प्रदेश विगतमा विकासमा पछाडि परेको र अहिले पनि पछाडि रहेको बताउँदै साझा अधिकारका विषयहरू र गर्नुपर्ने कामहरूलाई छिटो भन्दा छिटो गर्न संघिय सरकारलाई आग्रह गरेका छन् । आज नागरिकले सरकारबाट तीव्र रूपमा विकास खोजी रहेको छ, जनताले सजिलो तरिकाले सेवा सुविधा चाहन्छ । संविधानले दिएको अधिकारलाई प्रयोग गर्न चाहन्छ । तर अझै पनि त्यो कुरालाई अगाडि बढाउनमा कन्जुसाई गरिराखेका छौँ । या नबुझेर गरिराखेका छौँ । त्यो कुरा पनि जनताले महसुस गरेको छ । जब हामीले नागरिकले चाहेको कुरा समयमा दिन सक्दैनौँ तब एउटा प्रकारको असन्तुष्टि पैदा हुन्छ । नागरिकमा हामीले यती संघर्ष गरेर पनि के पायौँ भन्ने स्थिति बन्छ ।
त्यस कारण म सबैलाई अहिलेको आवश्यकता अनुसार आफूलाई रूपान्तरण हुन आग्रह गर्दछु” उनले भने ।कानुनी जटिलताहरूलाई सहज बनाउँदै विकास निर्माणका कार्यहरू लाई गति दिन आग्रह गर्दै मुख्यमन्त्री भट्टले नागरिकको सेवा गर्ने सम्पूर्ण कार्यालयहरूले दिने सेवाहरू अझ पनि सुधार ल्याउन जरुरी रहेको बताए । मुख्यमन्त्री भट्टले सिमानाहरू मिचिएको स्मरण गर्दै त्यसमा पनि हाम्रो देशले कूटनीतिक रूपबाट पहल गरेर हाम्रा सिमानाहरू फिर्ता ल्याउनुपर्ने, सिमानाहरूको रक्षा गर्नु पर्ने दायित्व बनेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले कृषि भौतिक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न काम गरेको र सुदूरपश्चिम प्रदेशको स्थिर सरकारले अझै जनभावना अनुसार तीव्र गतिमा काम गर्ने मुख्यमन्त्री भट्टको भनाई छ।


