धनगढी। प्रदेश निर्वाचन कार्यालय धनगढीले फागुन ७ गते छैठौँ निर्वाचन दिवस मनाउने भएको छ। निर्वाचन आयोगले २०७३ साल देखी प्रत्येक फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएकोमा यस वर्ष ‘निर्वाचनमा सबै, सधैँ र सँगै’मुख्य नारासहित शनिवार (भोली)छैटौँ निर्वाचन दिवस मनाउन लागेको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए।
शुक्रबार निर्वाचन कार्यालय धनगढीले आयोजना गरेको छैठौँ निर्वाचन दिवस २०७८ निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिकाको बारेमा अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराइएको हो। बिहीवार कार्यालय वृक्षारोपण, सरसफाइ र व्याटमिन्टल प्रतियोगिता तथा सरोकारबालासँग छलफल गरीएको र मतदाता शिक्षा कार्यक्रम अगाडी बढाइएको बताएका छन्। यस्तै आगामी २०७९ वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचनमा सबै, सधैँ र सँगै’ मुख्य नारा सहित निर्वाचन सञ्चालन सम्बन्धी व्यवस्थापन, तयारीबारे जानकारी दिइएको हो।
आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा, विद्यालयमा मतदाता शिक्षा, राजनीतिक दल, सङ्घ संस्था तथा थप विद्यालयहरूमा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन गरीने भएको बताइएको छ। यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मतदान केन्द्रका अधिकृतबाट कुनै लापरबाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने, मतपत्र गन्ती गर्दा ध्यान दिनुपर्ने भन्दै सहभागीले मतदानका लागि मतदातालाई सहज गरिदिनुपर्ने बताएका छन्।
निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक रहने उनले बिश्वास लिएका छन्। निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा सुझाब दिइएको छ। निर्वाचनमा सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ फागुन ७ गते छैटौँ निर्वाचन दिवस देशभरी नै मनाइँदै छ। मतदान केन्द्रको अनुगमन निरन्तर गर्ने, सरोकारवालासँग अन्तरक्रिया आवश्यकता अनुसार सञ्चालन गर्ने कार्यक्रम रहेको जनाएको छ। यस्तै छैठौँ निर्वाचन दिवसको अवसरमा निर्वाचन कार्यालय कैलालीले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।२०७६/७७ को कार्यसम्पादनको मुल्याङकनको आधारमा कार्यालय सहयोगी भगीरथ रानालाई नगद तीन हजार सहित सम्मान गरिएको हो।
कैलालीमा थप ५ ओटा मतदान केन्द्र थपेर २ सय ३७ मतदान स्थल रहेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ। २०७४ सालको मतगणना अनुसार २ लाख २३ हजार ५०९ पुरुष, २ लाख ३७ हजार ०६१ महिला तथा तेस्रो लिङ्गी, ८ जना गरी ४ लाख ६० हजार ५ सय ७८ जना रहेका छन्। यस्तै २०७७ पौष ५ गतेसम्म २ लाख ४२ हजार ६ सय १२ पुरुष, २ लाख ५५ हजार ४ सय ७७ महिला र तेस्रो लिङ्गी १० जना गरी जम्मा ४ लाख ९८ हजार ९९ जना रहेका छन्। हाल २०७८ माघ २४ गते सम्मको सर्भरमा भएको अनुमानित सङ्ख्या ५ लाख ३५ हजार रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

