काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार फेरि बस्ने गरी सकिएको छ। एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए । अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहानका लागि बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार छैनन् । बिहीबार अपरान्ह बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी सम्झौता टेबल गर्ने प्रस्ताव राखेका थिए । फागुन १६ भित्र एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनैपर्ने भएकाले संसद्मा पेस गरेर छलफल गर्नुपर्ने उनको अडान छ । प्रधानमन्त्रीले यसअघि बुधबारकै बैठकमा सम्झौता अघि बढाउन कोसिस गरेका थिए । सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा एमसीसीको विपक्षमा रहेका नेताहरूले छलफल गरेका थिए ।

