काठमाडौँ । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
शुक्रबार बिहान पुन: गठबन्धनको बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । संसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो।
बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए। तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।
नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको कोसिस गर्ने भन्दै १०बजेका लागि बैठक तय भएको हो । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ ।


