काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् ।
यससँगै बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी रोकिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रधानमन्त्री देउवाको जोडबल थियो । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाउन उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग ल्याउने प्रस्तावमा सहमति गरे ।
प्रचण्ड र नेपालको साथ पाएपछि प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीलाई बुधबारको बैठकको एजेण्डा बनाउन दबाब दिएका थिए । बुधबार टेबल गर्ने र बिहीबार बैठक राखेर सत्तारुढ माओवादी र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुँदा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीकै बीच एमसीसी अनुमोदन गर्ने उनको योजना थियो ।
तर संसद बैठक अघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको योजना बिथोल्यो । माओवादीले संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्न नहुने मात्र बताएन, जबरजस्ती गरिए विपक्षमा मत दिने बतायो । संसदीय दलको बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगे । प्रधानमन्त्री देउवालाई पार्टीको निर्णय सुनाउँदै उनले भनेका छन्, ‘म सांसदहरुको घेराबन्दीमा परे, मैले सक्दै सकिनँ । कोशिश गर्दा पनि नसकेका हुँदा सरकारमा बस्नु उपयुक्त हुन्न, सरकार छाड्छौं ।’ प्रचण्ड त्यतिमा मात्र रोकिएनन्, एमसीसी टेबल गरिए विपक्षमा मत दिने समेत बताएका छन् ।
प्रधानमन्त्रीले नेताहरुलाई बताएअनुसार सरकार छाड्ने प्रचण्डको प्रस्ताव अस्वभाविक थियो । यद्यपि एमसीसी पास फेल जे भए पनि संसदमा टेबल गर्न दिनुपर्नेमा जोड दिएको बालुवाटार निकट स्रोत बताउँछ । प्रचण्डले संसदमा अवरोध कायमै रहेको र सत्तारुढ गठबन्धनमा छलफल नभएको बताए । यदि आफूहरुको सहमति विना टेबल गर्न खोजे तत्काल सरकार छाड्ने उनको चेतावनी थियो । त्यसपछि देउवा गठबन्धनको बैठक बोलाउन तयार भए । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार भोलि बिहीबार दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको छ । कांग्रेस नेताहरुका अनुसार त्यो बैठकमा प्राधनमन्त्री एवं पार्टी सभापतिको जोड एमसीसी टेबल गर्नेमा हुनेछ । एक पदाधिकारी भन्छन्, ‘सरकारको प्रस्ताव संसदमा छिर्नै नपाउने भन्ने पनि कहिँ हुन्छ रु टेबल गरेपछि विपक्षमा मत दिने कि अनुपस्थित हुने उहाँहरुको कुरा भयो । तर सरकारले एमसीसी टेबल गर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको अडान हो, भोलि पनि त्यही भन्छौं ।’


