काठमाण्डौ। प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक संसदमा विचाराधीन रहेको र लगातार बैठक अवरोध गर्दा नीति निर्माण तथा आम नागरिकका समस्या राख्ने थलो बन्धक भएकाले बैठक चल्न दिन आग्रह गर्नुभएको थियो । तर एमालेका सांसदहरूले एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले हटाउनुपर्ने, सभामुखले विगतमा गरेका गल्तीबारे माफी माग्नुपर्ने लगायतका माग गर्दै बैठकमा नाराबाजी गरिरहे ।
विधि र प्रक्रियाबाट पनि आफ्ना विरोध राख्न सकिने भएकाले संसद् बन्धक नबनाउन सभामुखले पटक–पटक आग्रह गर्नुभएको थियो। एमालेको अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पनि बैठकबाट पारित भएको छ । अर्को बैठक यही ६ गते शुक्रवार बस्ने भएको छ ।


