काठमाडौं। सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बुधबार बिहान साढे ११ बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल गर्न तथा कार्यसूचीमा समेट्नका लागि बैठक बोलाइएको बताइएको छ।
यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेका थिए। एमसीसी बुधबारको बैठकमा टेबुल गराउने काँग्रेसले मंगलबारको बैठकमा निर्णय गरेको थियो । संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी समेटिएको थिएन।


