कैलाली। नेपाली काँग्रेस कैलालीमा चुनावी चहलपहल बढेको छ। काँग्रेस जिल्ला अधिवेशन फागुन १३ गते तोकिएपछि कैलालीमा काँग्रेस अधिवेशनलाई लिएर चुनावी चहलपहल बढेको हो। काँग्रेस कैलालीले
अधिवेशनमा २ हजार ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने र ती प्रतिनिधिहरूले नै जिल्ला कार्य समिति चयन गर्ने जनाएको छ। पटक पटक स्थगित हुँदै आएको जिल्ला अधिवेशनको मिति तोकिएसँगै कैलाली काँग्रेस भित्र चुनावी सरगर्मी समेत बढिरहेको छ। यतिवेला काँग्रेस नेताहरू प्रकाश बम, नारायणदत्त भट्ट, दीपकराज जोशी, खेमराज चौधरी, भीम बडुवाल, नवराज रावल, रामचरण चौधरी जिल्ला सभापतिको दौडमा रहेका छन् ।
यसैबिच नेपाली काँग्रेस कैलालीको सभापति पदमा जिल्ला उपसभापति प्रकाश बमले उम्मेदवारी घोषणा गरेका छ्न। आज धनगढीमा पत्रकार सम्मेलन गरी उपसभापति बमले आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताए । काँग्रेस कैलालीलाई एकताबद्ध र थप सुदृढ पार्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थिति बलियो बनाउने सङ्कल्प लिएर सभापतिमा अघि बढेको उनले बताए।सर्वसम्मत नेतृत्व चयनका लागि खुला रहेको बताउँदै बमले पार्टीको केन्द्रीय तहबाट अहिले सम्म कोही कसलाई आधिकारिक रुपमा जिल्ला सभापतिको उम्मेदवार नतोकिएको दाबी गरे । आफ्ना बारेमा विभिन्न भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै बमले सरकारी नियुक्तिका लागि कहीँ कतैबाट दबाब नआएको र आफूले नियुक्ति भन्दा पनि सभापति पदलाई प्राथमिकता दिएको बताए।


