कञ्चनपुर। भारतको लोकसभा निर्वाचनका लागि बन्द गरिएको नाका सोमबार साँझदेखि खुलेको छ। निर्वाचन सकिएसँगै साँझ ६ बजेपछि कञ्चनपुरको गड्डाचौकी नाका खुला गरिएको हो।
नाका खुला गरिएसँगै आवतजावत सुरु भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । रोजगारीदेखि किनमेला आदिका लागि सीमावर्ती बजारसम्म आउजाउ सञ्चालन भएको छ। भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो।
यस्तै सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु आज सोमवार साँझदेखि खुल्ने बताइएको छ। बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमानाका आजबाट खुल्ने भएका हुन्। यसअघि छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो । निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाका बन्द गरिएका थिए । बन्द भएका नाका आज साँझदेखि खुल्ने बताइएको छ ।