काठमाडौं। नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो। तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । सांसदहरू रावल, भूसालसहित दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन्। उपस्थितिमा हस्ताक्षर गरेको तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए । भीम रावलले बैठकमा उपस्थितिको माइन्युटमा हस्ताक्षर गर्दै छेउमा ‘बैठक प्रयोजनका लागि’ भनेर लेखेका छन् ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवादमा के गर्ने भन्ने निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरूको हस्ताक्षर संकलन गरेको र शीर्ष नेतृत्वको निर्णयपछि अघि बढ्ने बताएका छन्। जबराविरुद्धको महाअभियोगको विरोधमा एमालेले काउन्टर महाअभियोग ल्याउने तयारी रहेको सांसद कृष्णभक्त पोखरेलले बताएका थिए । भीम रावलले लेखे अध्यक्ष ओलीलाई यस्तो पत्र, एमसीसीबारे गम्भीर छलफल गर्न माग (पत्रसहित)
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले पार्टीमा अमेरिकी सहयोग सम्झौता एमसीसीबारे गम्भीर छलफल हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् । त्यस्तै, आजको बैठकमा एमसीसी अनुमोदन गरिनुहुन्न भन्ने आवाज पनि जोडदार रुपमा उठेको रावलले उल्लेख गरेका छन् ।

